तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनसम्म पाँच दलीय गठबन्धन : मन्त्री खतिवडा

फाइल तस्बिर

कास्की । स्वास्थ्य तथा तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावलीलगायत चाडपर्वका अवसरमा आज पोखराको सभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधानको रक्षा गर्ने सर्तमा अहिलेको सत्तापक्षको गठबन्धन आगामी निर्वाचनसम्म रहने बताउनुभएको हो ।

वर्तमान सरकारलाई परमादेशको सरकार भन्नुको कुनै अर्थ नरहेको भन्दै उहाँले निवर्तमान प्रधानमन्त्री केपी ओली जसरी सांसदको हस्ताक्षरबाट प्रधानमन्त्री नियुक्त हुनुभयो, अहिलेका प्रधानमन्त्री पनि सोहीअनुसार नियुक्त हुनुभएको स्पष्ट गर्नुभयो । 

मन्त्री खतिवडाले भन्नुभयो, “अहिलेको सरकार परमादेशको सरकार होइन, संविधानबमोजिम राष्ट्रपतिकामा बहुमत सांसद गएका हौँ । केपी ओली बन्दा जसरी सांसदको दस्तखत गरेर सरकार बनेको हो, अहिले पनि त्यही सांसदका दस्तखतबाट सरकार निर्माण भएको छ ।” 

स्वास्थ्य मन्त्री खतिवडाले गण्डकी प्रदेशमा सङ्घीय सरकार मातहतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मात्र रहेकाले सो अस्पतालको सेवा थप प्रभावकारी बनाउनका लागि सबैसँग छलफल गरेर सुझावका आधारमा आफूले काम गर्ने बताउनुभयो । 

पार्टीका गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले पार्टीको पछिल्लो बैठकले लिएका नीति,कार्यक्रम तथा कार्य योजनालाई तल्लो तहसम्म लैजान कार्यकर्तालाई आग्रह गर्नुभयो । 

जिल्ला अध्यक्ष धनराज आचार्यले जिल्लाका ७२ वटै वडामा पार्टी कमिटी निर्माणको काम अघि बढिरहेको जानकारी दिनुभयो । 

शुभकामना आदानप्रदान कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, स्वास्थ्य मन्त्री मधु अधिकारी, एकीकृत समाजवादीका पोलिटब्युरो तथा केन्द्रीय सदस्य, अन्य राजनीतिक दलका जिल्लास्थित नेता, उद्योगी व्यवसायी लगायतको सहभागिता थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button