तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सुरक्षा सबैको सहमतिको विषय : मन्त्री डा.रिजाल

विराटनगर । रक्षा मन्त्री डा.मिनेन्द्रप्रसाद रिजालले गठबन्धन दलको सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी मन्त्रीमण्डल बिस्तार भएको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री रिजालले मन्त्रिमण्डल भागबन्डाको विषयलाई लिएर अहिले बाहिर आएका समाचारमा सत्यता नभएको बताउनुभयो । 

उहाँले मुलुकको राजनीतिक परिस्थितका कारण मन्त्रीमण्डल बिस्तारमा केही ढिलाइ भए पनि त्यसलाई अन्यथा लिन नहुने उहाँको भनाई थियो । 

एक प्रश्नमा उहाँले लिपुलेक र कालापानी नेपालको स्वामित्वमा रहेको भूमि भएकाले यो नेपालको स्वामित्वमा रहनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सुरक्षा सबैको  सहमतिको विषय भएकाले सबैको सहमतिमा यो विषय अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो । 

नेपाली सेनाले प्राकृतिक विपत्तिदेखि मुलुकको हितमा पुर्‍याएको सहयोग र योगदानका चर्चा गर्नुहुँदै मन्त्री रिजालले नेपाली सेनाको मान सम्मानलाई कदर गर्नुपर्नेमा जोड दिनुभयो । 

नागरिकको सुरक्षामा अहोरात्र खटिरहने नेपाली सेनाको मान सम्मानमा आँच आउने काम कहीँ कतैबाट हुन नहुने उहाँको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button