तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व परराष्ट्रमन्त्रीद्धारा छन्द लहरी कविता विमोचन

पाल्पा । कवि गणेश आत्रेयको कविता छन्द लहरी विमोचन भएको छ । कविता साहित्यकार तथा पूर्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली विमोचन गर्नुभयो । पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले कवि गणेश आत्रेयका कवितामा वर्तमान समाजमा सबै क्षेत्रमा भित्रिएका विकृतिप्रतिको चिन्ता, श्रमप्रतिको सम्मान व्यक्त हुनुका साथै सामूहिक चेतना प्रतिबिम्बित भएर आएको बताउनुभयो । उहाँले ठाउँ ठाउँमा दार्शनिक चेतना पोतिनुका साथै ईश्वरप्रतिको भरोसा भाव पनि समेटिएको बताउनुभयो । उहाँले स्रष्टाले समाजमा सकारात्मक विचार प्रवाहित गर्नुका साथै आत्मविश्वास जगाउने कुरामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले गणेश आत्रेय पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत सिर्जना कर्ममा विशेष सक्रिय रहेको र त्यसैको पृष्ठभूमिमा कृति प्रकाशनमा आएको कुरा उल्लेख गर्नुभयो । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार तथा समालोचक डा शंकरप्रसाद गैरेले कृतिका बाह्य तथा आन्तरिक विशेषतामाथि प्रकाश पार्नुभयो । कृतिमा एक सय एक्काइसवटा कविता समेटिएको र प्रत्येक कविता फरक फरक छन्दमा रहेको यस्तो कृति आफूले पहिलो पटक भेटेको कुरा पनि उल्लेख गर्नुभयो । उहाँले विषयगत विविधता भएको प्रस्तुत कृति छन्दमा कविता लेख्न चाहनेहरूका लागि उपयोगी सामग्री रहेको सन्दर्भसमेत उठाउनुभयो ।

साहित्यकार रामप्रसाद अर्यालले कृतिकार गणेश आत्रेयको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभयो । कृतिकार गणेश आत्रेयले आफूलाई कृति प्रकाशनतर्फ त्यति मोह नरहेको तर सामाजिक सञ्जालका प्रतिक्रिया र साथी शुभेच्छुकहरूका सल्लाहले उत्साहित गराएको सन्दर्भ उठाई यस्तो कर्मको अगुवाइ गर्ने पुत्र गुराँस आत्रेय र सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । नेता ठाकुर गैरे, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष हरि भट्टराईलगायतले कृतिकारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । टंक पन्थ, भावना खनाल, तुलसीराम पोखरेल, सुमन पन्थीद्वारा छन्द लहरी भित्रका कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button