अपहरणमा परेका १३ वर्षीय बालकको १० घण्टामा सकुशल उद्धार

सुनसरी । अपहरणमा परेका १३ वर्षीय बालकको १० घण्टामा सकुशल उद्धार गर्न सुनसरी प्रहरी सफल भएको छ ।
बिहीबार दिउँसो करिब ३ बजे सुनसरीको कोसी गाउँपालिका वडा नं ७ नेपाल भारत सीमा नजिकैबाट १३ वर्षीय बालक दिपेन सदा अपहरणमा परेका थिए ।
अपहरणमा परेका बालकलाई भारतको सुपौल जिल्ला बलबदैपुर वडा नं ६ बैरयाकमालबाट भारतीय प्रहरी समेतको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आज रातको १ः५० बजेको समयमा उद्धार गरी नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
भारतको सुपौल जिल्ला, ग्राम पञ्चायत बलबदैपुर वडा नं ६ बैरयाकमाल बस्ने मकुम मियाँ समेतको संलग्नतामा बालक सदाको अपहरण भएको बताइएको छ ।
मकुम मियाँ नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी गर्ने कामदारहरू लैजाने ठेकेदार रहेको प्रहरीले जनाएको छ ।
मकुम मियाँलाई नेपाली कामदारहरू १५÷२० जनाको सङ्ख्यामा उपलब्ध गराइदिन्छु भनी नेपालतर्फ सुनसरी जिल्ला कोसी गाउँपालिका वडा नं ७ बस्ने भुल्टन सदा लगायत ५ जनाले अग्रिम दुई लाख पैसा भुक्तानी लिई कामदार नपठाएको र मकुम मियाँको सम्पर्कमा समेत नगएकाले मकुम मियाँ लगायतको समूहले भुल्टन सदाको गाउँकै बालक दिपेन सदालाई अपहरण गरी लगिएको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
अपहरणको क्रममा मकुम मियाँ समेतको समूह दुई वटा मोटरसाइकल ल्याएर बालकलाई मोटरसाइकलको बिचमा राखी नेपालबाट भारततर्फ अन्दाजी ३५ किलोमिटर पूर्व दक्षिण मकुम मियाँकै घरमा लगी राखेको अवस्थामा फेला पारी उद्धार गरिएको प्रहरीले जनाएको छ ।
अपहरण पश्चात् बालकलाई कुटपिट समेत गरेको पीडित बालकले बताएका छन् ।
प्रहरीले अपहरणमुक्त भएका बालकलाई उनको अभिभावक आमा र बुवा गणेशजी सदाको जिम्मा लगाएको छ ।
यो घटनालाई अपहरण तथा शरीर बन्धक शीर्षक अन्तर्गत आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्