खाल्डाखुल्डी सडकले यात्रुलाई सास्ती

काठमाडौँ । दसैँ तिहारको मुखमा सडकमा सवारी साधनको चाप बढिरहेको छ । तर वर्षा र पहिरोले क्षति पुगेका सडक मर्मत नहुँदा सवारी साधन फस्ने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्दै आइरहेका छन् ।
राप्ती लोकमार्गसँगै अन्य ग्रामीण सडकहरू मर्मत नहुँदा यात्रुले सास्तीसँगै यात्रामा बढी समय लाग्ने गरेको गुनासो गरेका छन् ।
ग्रामीण सडकभन्दा राप्ती राजमार्ग नै बढी बिग्रिएको चालकहरूको भनाई छ ।
कपुरकोट आसपासमा आइरहने पहिरोले यात्रु र गाडी चालकले बढी सास्ती भोग्नु परिरहेको चालक रविन्द्र श्रेष्ठले बताउनुभयो । सडकको स्तरोन्नति नहुँदा जोखिम मोलेर गाडी चलाइरहेको उहाँको भनाई छ ।
पहिरो झरेको र सडक बिग्रिएको स्थानमा कामचलाउ मर्मत गरी सवारी सञ्चालनमा ल्याइएको उहाँको भनाई छ । जसका कारण दोहोरो आवागमनमा समस्या हुने गरेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “खाल्डाखुल्डी गनेर साध्य छैन, सडकमा खाल्डा होकी खाल्डामा सडक हो छुट्याउन गाह्रो छ ।”
सल्यान सदरमुकाम खलङ्गाबाट ३ घण्टामा पुगिने दाङ तुलसीपुर आजभोलि ५ घण्टाभन्दा बढी लाग्ने गरेको अर्का बस चालक केशरबहादुर बुढाथोकीले बताउनुभयो ।
खाल्डाखुल्डीका कारण बढी समय लाग्ने, गाडी टुटफुट हुने र दुर्घटनाको खतरा उत्तिकै रहेको उहाँको भनाई छ । “मर्मत सम्भार टालटुले मात्र हुने त्यो पनि गुणस्तरहीन हुने भएकाले धेरै टिक्दैन”, उहाँले भन्नुभयो ।
सडक खन्नेमा जोड्दिने तर त्यसको मर्मत सम्भार र स्तरोन्नति गर्नतर्फ सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय दिलमाया वलीले बताउनुभयो ।
नयाँ सडक निर्माणमा जोड दिने तर खनिएका सडकलाई मर्मत गर्नेतर्फ ध्यान नदिँदा राज्यको लगानी पनि खेर गइरहेको उहाँले बताउनुभयो ।
वर्षाले क्षतविक्षत भएका सडक चाडपर्व आइसक्दा समेत मर्मत नभएको यात्रुहरूको भनाई छ । सडक राम्रो नहुँदा बढी मात्रामा बिरामी र वृद्धवृद्धा समस्यामा परेको वलीले बताउनुभयो ।
सडकहरूमा नियमित सवारी साधन सञ्चालनका लागि पालिका र प्रदेशले सामान्य स्तर वृद्धिका कामलाई अघि बढाइरहेको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । सडकको स्तरोन्नति गर्नका लागि बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको केन्द्रसम्म नियमित गाडी सञ्चालन गर्न सीमित बजेटका बाबजुद विगतदेखि लगानी रहेको बताउनुहुँदै चाडपर्व अघि नै मुख्य–मुख्य सडक मर्मत सम्भार गरिसक्ने अध्यक्ष केसीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्