गृहको अनुगमन टोलीको सुर्खेतका सरोकारवालासँग छलफल
सुर्खेत । गृह मन्त्रालयको अनुगमन टोलीले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सुर्खेत स्थित सरोकारवालासँग छलफल गरेको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा गृहको टोलीले जिल्लामा चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाई सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायत सेवालाई सुलभ तथा गुणस्तरीय बनाउन के कस्ता उपाय गर्न सकिन्छ भन्ने बारेमा सरोकारवालासँग छलफल गरेको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकमा गृह मन्त्रालयका सहसचिवद्वय पुष्पराज शाही र फणिन्द्र दाहालले दशैं, तिहार, छठ आदि चाडपर्व नजिकिँदै गएको सन्दर्भमा सुरक्षा, यातायात, आपूर्ति तथा बजार व्यवस्थापन लगायत सेवालाई सुलभ, गुणस्तरीय प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायको धारण तथा कार्यान्वयनमा जोड दिन कर्णाली प्रदेशका दशै जिल्लाको अनुगमनमा रहेको बताउनु भयो ।
उहाँहरूले प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न आफूहरू प्रयत्नशील रहेको जिकिर गर्नु भयो । यता सरोकारवालाहरूले चाडपर्वमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अत्यधिक मूल्य वृद्धिसँगै वर्षातले बिगारेका सडकका खाल्टाखुल्टीको समस्या देखाउँदै यातायात व्यवसायीले यात्रुहरूसँग मनोमानी भाडा असुल्ने र यातायात क्षेत्रमा अझै सिन्डिकेट हट्न नसकेको गुनासो गृहको टोलीलाई जानकारी गएको थियो ।
बैठकमा गृह मन्त्रालयबाट आएको दुई सदस्यीय टोलीसहित जिल्ला स्थित विभिन्न विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारी, उपभोक्ता अधिकारकर्मी, सुर्खेत उद्योगी वाणिज्य संघका पदाधिकारी र पत्रकारहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्