तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामको शक्तिपीठहरुलाई बेहुली झैँ सजाइयो

जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध धार्मिक शक्तिपीठहरुमा आजदेखि जमरा राखेर विधिपूर्वक नवदुर्गाको पूजा प्रारम्भ भएको छ । 

जनकपुरधामको प्रसिद्ध धार्मिक शक्ति पीठ राजदेवीमा पूँजाअर्चनाका लागि बिहानदेखि नै भक्तजनहरूको भिड लागेको छ । 

यसैगरी, विभिन्न शक्तिपीठहरुलाई युवा क्लबहरूले विशेष प्रकारले सजाउने काम गरेका छन् । 

जनकपुरधामको शक्तिपीठहरु सजाउनमा लाखौँ रुपैयाँ खर्च हुने गरेको छ । 

जनकपुरधामको प्रसिद्ध शक्तिपीठहरु राजदेवी मन्दिर, बौद्धिमाई मन्दिर, अमरखाना, पियरीयामाई स्थान, जनकपुरधामको विद्यापति चोकस्थित दुर्गा मन्दिर लगायतको शक्तिपीठहरुलाई रङ्गीचङ्गी ध्वजा, पताका, पण्डाल, बिजुली बत्ती लगाएर नयाँ बेहुली झैँ श्रृङ्गारेर आकर्षण बनाइएको छ । 

जनकपुरधामको अन्तरगृह परिक्रमा भित्र माटोको मूर्ति बनाएर पूजा नगर्ने प्रचलन रहेको छ । 

विभिन्न शक्तिपिठका साथै आदि शक्ति माता जानकीको मन्दिर भएकाले जनकपुरधामको भ्रमरपुराचोक, विद्यापति चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका स्थानमा नवदुर्गाको प्रतिमा बनाएर धूमधामका साथ दुर्गा भवानीको पूँजाअराधना गरिएको छ ।  

जनकपुरधामको शक्तिपीठहरु दिउँसोभन्दा रातिको समयमा झिलिमिली बत्तीका कारणले निकै मनमोहक एवं आकर्षक देखिन्छन् । साँझको समयमा यी शक्तिपीठहरुमा श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ । बाहिरबाट जनकपुरधामको दसैँ अवलोकनका लागि विभिन्न स्थानबाट पर्यटकहरू आउने गर्दछन् ।

जनकपुरधामको राजदेवीमा महाअष्टमीका दिन साँझ बलि प्रदानको कार्यक्रम सकेपछि भक्तजनहरूको भिड कम भए पनि अन्य शक्तिपीठहरु विजया दशमीसम्म नै रहने गरेको छ । 

गत वर्ष कोरोनाका महामारी बढी भएका कारणले कम भिडभाड रहे पनि यस वर्ष धेरैले खोप लगाएको कारणले कोरोनाको सङ्क्रमणमा कमी आएपछि बढी मात्रामा चहलपहल देखिएको छ  ।

यसैगरी,  तराई मधेससहित मिथिलाका गाउँ गाउँमा रहेको दुर्गा मन्दिरहरूमा धूमधामका साथै जमरा राखेर विधि पूर्वक नवदुर्गाको विशेष पूजा सुरु भएको छ । 

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा रहेको दुर्गा मन्दिरमा विशेष नियम निष्ठापूर्वक नवदुर्गा भवानीको पूजा सुरु भएको छ । 

दुर्गा मन्दिर पूजा व्यवस्थापन समिति मत्सरीको आयोजनामा करिब १ सय वर्षदेखि भव्य रुपमा पूजाको आयोजना गर्दै आएको छ । 

स्थानीयवासीले चन्दा सङ्कलन गरेर लाखौँ खर्च गरेर पूजाको आयोजना गरिँदै आएको छ । नेपालमा सबैभन्दा विधिपूर्वक दुर्गा भवानीको पूजा मत्सरीमा आयोजना हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button