तपाईँ सुन्दै हुनुहुन्छः

सहमहामन्त्री डा. महतको नेतृत्वमा काँग्रेसको टोली भारत प्रस्थान

काठमाडौँ। नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोली आज भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेको छ ।

भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली काँग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा हुनुहुन्छ । पाँच दिनको भ्रमणका क्रममा उहाँहरूले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरूका साथै भारतीय विदेश मन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका सहमहामन्त्री डा महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आउनुभएको थियो । त्यस भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री डा महतसहित नेपाली कांग्रेस र अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गर्नुभएको थियो ।

त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा महत नेतृत्वको टोली आज भारत लागेको हो । दिल्ली प्रस्थान गर्नुअघि डा महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“केही अघि भारतीय जनता पार्टीका नेता नेपाल आउनुभयो र आज हामी भारततर्फ जाँदै छौँ, दुई दलबिचको यो भ्रमण आदानप्रदानले आपसी समझदारी र एक अर्काप्रतिको बुझाइमा सहयोग पु¥याउने छ ।”

यस्ता भ्रमणका क्रममा आपसी समझदारीमा वृद्धि हुनुका साथै दुई दल र त्यसमार्फत् दुवै देशका सरकारसमक्ष आफ्ना सरोकारका कुरा राख्न र आफ्ना विषयवस्तु बुझाउन पनि मद्दत पुग्ने उहाँले बताउनुभयो । नेपाली काँग्रेसको यो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीको नेतृत्वमार्फत नेपालको चासो, हित र सरोकारका विषय भारत सरकारसमक्ष पु¥याउन पनि मद्दत पुग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button