वरिष्ठ पत्रकार चन्दको निधन
कञ्चनपुर । सुदूरपश्चिम क्षेत्रको पत्रकारिता क्षेत्रका धरोहर तथा वरिष्ठ पत्रकार रामबहादुर चन्दको आज ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँस्थित छोरीको घरमा उहाँको निधन भएको हो ।
प्रगतिशील विचारका चन्द सुदूरपश्चिम क्षेत्रमा पत्रकारिता क्षेत्रका अग्रणी व्यक्तित्वका रूपमा रहनुभएको थियो । उहाँ पञ्चायत कालमा महेन्द्रनगरबाट विसं २०२६ मा महाकाली सन्देश पाक्षिक पत्रिकाबाट पत्रकारिता क्षेत्रमा लाग्नुभएको थियो ।
विसं २०३३ मा उहाँले वार्ता साप्ताहिक पत्रिका सञ्चालन गर्नुभएको थियो । वार्ता साप्ताहिक एमाले प्रचार विभागले सञ्चालन गरेपछि उहाँले विसं २०४९ मा जनवार्ता अर्धसाप्ताहिक पत्रिका सञ्चालन गर्नुभएको थियो । बहु आयामिक व्यक्तित्वका धनी चन्द पत्रकार महासङ्घ कञ्चनपुरका संस्थापक सभापति समेत रहनुभएको थियो ।
पत्रकारिता पेशालाई मुख्य पेशा बनाउनुभएका चन्दले विसं २०४६ को आन्दोलनपछि पनि महेन्द्रनगरबाट चुरे टाइम्स दैनिक सञ्चालन गर्नुभएको थियो । उहाँले विसं २०५६ देखि करिब आठ वर्ष चुरे दैनिक पत्रिका प्रकाशित गर्नुभएको थियो ।
विसं २०६२/०६३ को जनआन्दोलनपछि उहाँ काठमाडौँस्थित छोरीको घरमा बस्दै आउनुभएको थियो । चन्दका श्रीमती र दुई छोरी छन् ।
बैतडी जिल्लाको सिगास गाउँपालिकामा जन्मिनुभएका चन्द लामो समयदेखि बिरामी हुनुहुन्थ्यो ।
रासस








प्रतिक्रिया राख्नुहोस्