एमसिसी पारित गरी कार्यान्वयनका लागि निजी क्षेत्रको आग्रह
काठमाडौँ । नेपालको निजी क्षेत्रले अमेरिकी सहयोग कार्यक्रम एमसिसी पारित गरी कार्यान्वयनका लागि नेपाल सरकार, संसदमा रहेका सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज र सरोकार भएका पक्षलाई आग्रह गरेको छ ।
निजी क्षेत्रका ३ वटा संस्थाहरूले एमसिसी अन्तर्गतका आयोजना कार्यान्वयन हुँदा मुलुकलाई आर्थिक लाभ मात्रै हुने भएको भन्दै कार्यान्वयनको लागि आग्रह गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसंघले बुधवार एक संयुक्त विज्ञप्ति मार्फत पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलापहरू प्रभावित हुनु हुँदैन भन्नेमा आफूहरू स्पष्ट रहेको उल्लेख गरेका छन् ।
युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकमा एमसिसि अन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्रले विश्वास व्यक्त गरेको छ ।
एमसिसी अन्तर्गतका आयोजनाहरू सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले सो आयोजना विकास र सुशासनका लागि समेत नमुना बन्न सक्ने विश्वास पनि निजी क्षेत्रले लिएको छ ।
प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्था सिर्जना हुँदै गएको र कमजोर सडक पूर्वाधारले नेपालको औद्योगिक र व्यावसायिक लागत समेत वृद्धि गरिरहेको तथा नेपालको समग्र उत्पादनको प्रतिस्पर्धी क्षमता समेत कमजोर भएको निजी क्षेत्रको भनाई छ ।
तीन वटै संस्थाहरूले अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसिसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसदबाट तत्काल सम्झौता पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्