स्वास्थ्यको ख्याल गरेर चाडपर्व मनाउन मुख्यमन्त्री शाक्यको आग्रह

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चाडपर्व मनाउँदै गर्दा स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरद्वारा विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्व लगायत चार्ड पर्वहरूको अवसरमा बुधवार आयोजित शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा उहाँले संस्कृतिको जगेर्ना गर्दै आफ्नो गक्ष र दक्ष अनुसार स्वास्थ्यको समेत ख्याल गर्दै चाडपर्व मनाउन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री शाक्यले संस्कृतिको जगेर्ना गर्दै सबैलाई सभ्य रूपले चाडपर्व मनाउनुपर्ने भन्दै उहाँले भड्किलो, खर्चिलो रुपमा चाडपर्व नमनाएर परिवारसँग बसेर स्वास्थ्यको ख्याल गरेर पर्व मनाउन आव्हान गर्नुभयो ।

चाडपर्वहरूले सामाजिक एकता कायम गरेको भन्दै कुनै पनि संस्कृति र संस्कार भित्र विभेद गर्न नहुने बताउनुभयो । संस्कृतिभित्र रहेका विभेदकारी भावनालाई भने समय अनुसार परिमार्जित गर्दै, हटाउँदै अघि बढ्नुपर्ने उहाँको भनाई छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश मन्त्री, राज्यमन्त्रीहरू, मन्त्रालयका सचिवहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू, सरकारी, गैरसरकारी कार्यालय तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्