तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गर्न सिफारिस

file photo

मकवानपुर । बागमती प्रदेशको नवौँ (हिउँदे) अधिवेशन आव्हान गर्न मन्त्रिपरिषद्ले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । 

बागमती प्रदेशको बुधवारको मन्त्रिपरिषद् बैठकले असोज २४ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

बागमती प्रदेश सभाको आठौँ (वर्षे) अधिवेशन गत भदौ ११ गते अन्त्य भएको थियो । प्रदेशमा एकल बहुमत रहेको एमाले विभाजन भएर १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै शाक्य नेतृत्वको सरकार पूर्ण रुपमा अल्पमत परिसकेको छ । सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । 

विश्वासको मत लिने वा सदनलाई कसरी अगाडि बढाउने अब सभामुखको हातमा हुने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले जानकारी दिनुभयो । उहाँले मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने विषयमा भने कुनै पनि छलफल नभएको बताउनुभयो । 
बागमती प्रदेशमा हाल १०९ सांसद छन् । सभामुखसहित ५६ सांसद रहेको एमालेको तर्फबाट एकल बहुमतको सरकार बनाउनुभएकी मुख्यमन्त्री शाक्यसँग हाल ४३ सांसद मात्र छन् । सरकार टिकाउन ५५ सांसद चाहिन्छ । साना दलसँगको सहकार्यमा पनि शाक्यको पद जोगिने सम्भावना छैन । प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेस २२, नेकपा (एस) १३ र स्वतन्त्र सांसद १ गरी विपक्षी गठबन्धनमा ५९ मत रहेको छ । सदनमा ३ मत रहेको विवेकशील साझा पार्टीले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button