तपाईँ सुन्दै हुनुहुन्छः

रोकिएन झाडापखालाको प्रकोप, चार सय बढी बिरामी

चन्द्रौटा । अस्पतालका बेड भरिएका छन् । बिरामीहरू आउने घुइँचो छ । अन्य नागरिकहरूमा त्रास छ । अस्पताल अपुग भएपछि विद्यालयमा बिरामीहरूको उपचार भइरहेको छ । 

अहिलेसम्म अस्पताल गएका बिरामीको सङ्ख्या ३ सय बढी पुग्यो । अन्य स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचाररत बिरामीहरूको संख्या १ सय भन्दा बढी रहेको छ ।

दुई दिन देखिको यो प्रकोप रोकिएको छैन । गत सोमबारबाट फैलिएको झाडापखालाका बिरामीहरू अहिले अस्पताल तथा निजी क्लिनिकमा उपचाररत छन् । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादु्रगञ्जमा रहेको शिवराज अस्पतालमा बेड अपुग भएपछि नजिकै रहेका दुई वटा विद्यालयमा बिरामीहरूलाई उपचार भइरहेको छ । 

मङ्गलवार साँझ ४० जना बिरामीलाई डिस्चार्ज गरे पनि बुधवार ती बिरामी फेरी सिकिस्त भएर अस्पताल भर्न भएको अस्पताल प्रशासनले जनाएको छ ।

राम गोरखा माविमा अहिले २० जना र महेन्द्र आधारभूत विद्यालयमा १५ जना र शिवराज अस्पतालमा १३० जना बिरामीको उपचार भइरहेको छ । शिवराज अस्पतालको सम्पर्कमा आएका ३ सय जनामध्ये अहिले १ सय ६५ जना अस्पतालमा उपचाररत छन् । ३० जनालाई जिल्ला अस्पताल र प्रादेशिक अस्पताल रिफर गरिएको छ भने बुधवार साँझ ४ बजेसम्म १ सय ५ जना बिरामी डिस्चार्ज भएको डा.मुकेश चौधरीले जानकारी दिनुभयो । 

बहादुर गन्ज, सुखरामपुर, देवान गढिया, जमुनी, दयानगर, विजय नगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको अस्पतालले जनाएको छ । बिरामीलाई अस्पतालले थेग्न सक्ने अवस्था नरहेको डा मुकेश चौधरीले बताउनुभयो ।

अहिले यस अस्पतालमा ७ जना डाक्टरहरूले उपचार गरिरहेका छन् । प्रदेशबाट  २ जना, जिल्लाबाट ४ जना र एक जना यसै अस्पतालमा कार्यरत डाक्टरहरूले उपचार गरिरहेको बताइएको छ । हिजो मात्रै प्रकोपका कारण दुई जनाको ज्यान गएको  थियो । 

अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको अस्पताल प्रशासनले जनाएको छ । यदि यस्तै अवस्थामा रहेको खण्डमा उपचारको लागि औषधिको समेत समस्या हुनसक्ने स्वास्थ्यकर्मीको भनाई छ । दिशा र पानी परीक्षणको रिपोर्ट अझै आइ नपुग्दा कारण भने पत्ता लागेको छैन ।

चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको स्वास्थ्यकर्मीहरूको भनाई छ । यस समयमा स्थानीयहरूले दूषित पानीमा माछा मार्ने र त्यतिकै खाँदा बिरामी बढेको हुन सक्ने अनुमान रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button