तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियाका महिला किसान बेसार खेतीमा अग्रसर

बर्दिया । गुलरिया  नगरपालिका–८ थपुवाका महिला किसान अहिले परम्परागत खेती छोडेर बेसार खेतीमा लागेका छन् ।

सुनौलो महिला विकास बहुउद्देश्य सहकारी संस्थाले गरेको सहयोगका कारण आफूहरू बेसार खेतीमा लागेको स्थानीय किसान बताउँछन् ।

गुलरिया नगरपालिका–८ थपुवाकी महिला किसान बेफानी थारुले आफूले पाएको अवसरलाई खेर जान नदिई बेसार खेतीमा लागेको बताउनुहुन्छ । 

बाली स्याहार्ने बेलामा कहिले बाढी त कहिले मलको अभाव प्राय जसो वर्ष भरी गरेको मेहनत छिनभरमै जाने भएकोले आफूलगायत गाउँका महिला दिदीबहिनी  बेसार खेतीमा आकर्षित भएको थारु बताउनुहुन्छ ।

यति बेला  उहाँ  र उहाँको  परिवार खुसी छ । उहाँ एक प्रतिनिधि पात्र मात्र हो । 

बेसार खेती लगाउन सजिलो हुने,  धरै हेरचाह गर्नु नपर्ने, र मनग्य आम्दानी हुने भएकोले अधिकांश किसानको रोजाई बेसार खेती परेको अर्का किसान पहरनीया थारु बताउनुहुन्छ ।

संस्थाले गरेको सहयोगले किसान आकर्षित भएका छन् । सुनौलो महिला विकास बहुउद्देश्य सहकारी संस्था र नगरपालिकाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत करिब १२ लाख को सहयोगमा बेसार पकेट कार्यक्रम अन्तर्गत समूह बनाइ करिब १० हेक्टर( १५ बिगाहा)मा बेसार खेती हुँदै आएको संस्थाकी अध्यक्ष इन्दिरा सुबेदीले बताउनुभएको छ ।

२०५८ सालमा संस्था स्थापना भएदेखि महिला सशक्तीकरण, महिला आय आर्जन र महिला हिंसा न्यूनीकरण सम्बन्धी काम गदै आइरहेको  छ । 

सानो संस्था भए पनि  अहिले सानो मिल राख्ने र भविष्यमा राम्रो उत्पादन गरी स्थानीय महिला दिदीबहिनीहरूलाई बेसार खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको अध्यक्ष सुबेदीले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नगरपालिकाबाट अनुदानको कुल रकम ६ लाख ९९ हजार ९ सय ५०  संस्थाबाट स्वयं लगानी ५ लाख ८० हजार ५० रुपैयाँ गरी कुल १२ लाख ८० हजार बेसार पकेट क्षेत्रमा लगानी भई हालसम्म यसको नतिजा राम्रै आएको संस्थाकी सचिव सबिता शर्माले बताउनुभयो ।

२ सय १५ क्विन्टल बिउ लगानी रहेकोमा यस बर्ष करिब ४० देखी ५० टन उत्पादन गर्ने लक्ष्य रहेको र यसको सङ्कलन र व्यवस्थापनको सबै व्यवस्था भइसकेको शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button