तनहुँमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

तनहुँ । नेपालहरूको महान् पर्व दशै तिहार, छठ नजिकिएसँगै दैनिक उपभोग्य सामाग्री बढी किनमेल हुने बजारमा प्रशासनले अनुगमन तीव्र बनाएको छ ।
जिल्ला प्रशासन कार्यालयसहित यहाँका विभिन्न स्थानीय तहले बजारमा हुनसक्ने अनियमितता, मूल्यवृद्धि, म्याद गुज्रिएका सामाग्रीको कारोबार लगायतको अनुगमन थालेको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले केही दिनदेखि दमौली बजारमा गरेको अनुगमनमा बजारमा अत्याधिक मात्रामा म्याद गुज्रिएको सामाग्री फेला पारेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले म्याद गुज्रिएको सामान अधिकांश पसलमा फेला परेकाले उत्पादन मिति जाँच गरेर खरिद गर्न उपभोक्ताहरूलाई आग्रह गर्नुभयो ।
उहाँले दशै अगाडी नै जिल्लाका सबै बजार क्षेत्रमा अनुगमन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
यस्तै शुक्लागण्डकी नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु थालेको छ ।
नगरपालिकाको अनुगमन टोलीले सोमबारदेखि बजार अनुगमन थालेको हो ।
पहिलो दिन दुलेगौँडा बजारमा रहेको किराना स्टोर र डिपार्टमेन्टल स्टोर्सको अनुगमन गरेको अनुगमन संयोजक नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताउनुभयो ।
उहाँका अनुसार दुई दर्जन किराना पसल, डिपार्टमेन्टल र पेय पदार्थको डिलरमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा मूल्य सुची नराखेको, व्यवसाय दर्ता र नवीकरण नगरिएको पाइएको उहाँले जानकारी दिनुभयो ।
“केही म्याद नाघेका बस्तु पनि फेला परेको छ । ती वस्तु जफत गरेका छा”, उहाँले भन्नुभयो । “मसला, चाउचाउ, बिस्कुट लगायतका सामाग्री म्याद नाघेको फेला पारिएको हो ।”
व्यवसाय दर्ता नवीकरण गर्ने, मूल्य सुची ग्राहकले देख्ने स्थानमा टाँस्न सूचित गराइएको छ ।
गत वर्षको तुलनामा पहिलो दिनको अनुगमनमा बजार सुधारिएको पाइएको लम्सालले बताउनुभयो । जफत गरेको सामाग्री प्रहरी प्रशासनको रोहबरमा नष्ट गर्ने जनाइएको छ ।
अनुगमन टोलीमा नगरपालिकाका कर्मचारीसँगै, व्यावसायिक सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी र पत्रकार सहभागी छन् । नगरपालिकाले २४ असोजसम्म बजार अनुगमनलाई निरन्तरता दिनेछ ।








प्रतिक्रिया राख्नुहोस्