तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्र सुधारका विषयमा छलफल

सल्यान  । स्वास्थ्य क्षेत्रमा भएका काम र सुधार गरेर लैजानुपर्ने विषयमा सल्यानमा मङ्गलवार छलफल भएको छ । 

स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको स्वास्थ्यका लागि सक्षम प्रणालीको दातृ निकाय युएसएआईडीका नेपाल प्रतिनिधिहरू र गाउँपालिका राष्ट्रिय महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष भिमबहादुर सेन लगायत कपुरकोट गाउँपालिका बीच छलफल भएको हो । 

गाउँपालिका र स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रमको सहकार्यको बारेमा समीक्षा गरिएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले बताउनुभयो । 

कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका भीम बहादुर सेनले आफ्नो पालिकाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि स्वास्थ्यका लागि सक्षम प्रणालीले महत्त्वपूर्ण प्राविधिक सहयोग गरेको बताउनुभएको थियो । 

उहाँले गाउँपालिका राष्ट्रिय महासङ्घमा पनि स्वास्थ्यका विषयमा छलफल हुने, स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गर्ने लगायतका कार्य गरिरहेको जानकारी दिनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेन लगायतले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । 


युएसएआईडी नेपालका स्वास्थ्य निर्देशक पेट्रेसिया मेन्गेह, वित्तीय निर्देशक जे माघ्रा, स्वास्थ्य सल्लाहकार नुर प्रसाद पन्त, एलेन पाइर्स, दिपक पौडेल, होमनाथ सुवेदीलगायत स्वास्थ्यका लागि सक्षम प्रणाली सल्यानको टोली छलफलका लागि कपुरकोट गाउँपालिकामा आएको थियो । 

कार्यक्रममा मातृ तथा नवशिशु कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने, पालिकाभित्र रहेको आधारभूत स्वास्थ्य केन्द्रहरूको सुदृढीकरण कसरी गर्ने, सेवाको पहुँच बाहिर रहेकालाई कसरी सेवाको दायरामा ल्याउने लगायतका विषयमा छलफल भएको थियो । 

सो अवसरमा धनवाङ स्वास्थ्य चौकी कपुरकोटको अनुगमन समेत भएको सिनियर अहेव सुवास हमालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button