तपाईँ सुन्दै हुनुहुन्छः

करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा

कर्णाली। आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ ।

कर छलेको सामान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजस्व कार्यालयले मङ्गलवार साँझ सप्लायर्समा छापा हानेको हो । कार्यालयले कर छलेर ल्याएको २६१ प्याकेट झुम्का सुपर पावर र १४८ प्याकेट बल्ब छाप भएको सुर्तीसमेत बरामद गरेको कर अधिकृत खडानन्द खत्रीले जानकारी दिनुभयो ।

कर छली गरी अवैध बाटोबाट सुर्खेत भित्र्याइएको ४०९ प्याकेट सुर्तीजन्य पदार्थ बरामद गरिएको कार्यालयका कर अधिकृत खत्रीले बताउनुभयो । “विशेष सूचनाका आधारमा सप्लायर्समा छापा हान्दा हामीले राजस्वको स्टिकर टाँसेको भेटेनौँ”, कर अधिकृत खत्रीले भन्नुभयो, “नियन्त्रणमा लिइएको सामानबमोजिम आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउँछौँ ।” उहाँका अनुसार बरामद सामानको अनुसन्धान गर्नुको साथै थप छानबिनका लागि सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई (आज) बुधवार कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।”

उक्त पसलमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत छापा हानेको थियो । छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरेको प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताउनुभयो । राजस्व कार्यालयले दोस्रो चरणको निषेधाज्ञामा समेत सप्लायर्सले अवैध सुर्ती बिक्री गरेको भेटिएपछि मुद्दा नै चलाइएको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयका अनुसार नेपाल प्रहरीको सहयोगमा गत आर्थिक वर्षमा अवैध सुर्ती जफतबाट झन्डै रु ६० लाख राजस्व सङ्कलन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button