‘समावेशी विकास मूल नीति बनाएर अघि बढ्नुको विकल्प छैन’
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र मुलुकको अहिलेको मुख्य लक्ष्य भएकोले समावेशी विकास मूल नीति बनाएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा अर्थमन्त्री शर्माले कोभिड–१९ का कारण सिर्जना भएको परिस्थिति सामना गर्न विकास लक्ष्य एवं योजनामा ठूलो सुधारको चुनौती र आवश्यकता औँल्याउनुभयो ।
अर्थमन्त्री शर्माले संविधान अनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आत्मसात् गरेको समाजवादोन्मुख अर्थतन्त्र कस्तो हो भन्ने चित्र नै नरहेको भन्नुहुँदै संविधानमा उल्लेख गरेको विषय हाम्रा योजना र कार्यक्रममा नसमेटिएको बताउनुभयो ।
महालेखा परीक्षक टङ्कमणि शर्माले मितव्ययी, दक्षता र प्रभावकारिताको कसीमा रहेर सङ्घ, प्रदेश र स्थानीय तहको लेखा परीक्षण गरिएको जानकारी दिनुभयो ।
मुख्यसचिव शङ्करदास वैरागीले बजेट निर्माण प्रक्रियामा व्यापक सुधार आवश्यक रहेको तथा सुशासन कायम गरी विकास आयोजना अघि बढाउने सन्दर्भमा कार्यान्वयन र समन्वयमा समस्या देखिएको बताउनुभयो ।
महालेखा नियन्त्रक सुमनराज अर्यालले सबै स्थानीय तहमा सूत्रका आधारमा सञ्चालन हुने लेखा परीक्षण विधि अघि बढाइएको जानकारी दिनुभयो ।
त्यस अवसरमा समिति सदस्यहरूले राज्यको ढुकुटीको रकम अनियमित ढङ्गबाट खर्च गरेर बेरुजु बढ्दै जाने प्रवृत्तिले सबैलाई चिन्तित तुल्याएकाले व्यापक सुधारको खाँचो औँल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्