तपाईँ सुन्दै हुनुहुन्छः

एनआरएनए अध्यक्षका लागि डा. केसीको उम्मेदवारी घोषणा

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घको आगामी कार्यकालका लागि अध्यक्ष पदमा रुसका डा.बद्री केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा डा केसीले ‘समृद्धि र रूपान्तरण, हाम्रो साझा अभियान’ भन्ने प्रतिबद्धता पत्र जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

हालको कार्य समितिमा उपाध्यक्ष रहनु भएका डा केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी र एनआरएनए नेपाल डेभ्लपमेन्ट फन्ड, संरचनागत पुनर्संरचना एवं सुदृढीकरण, गैर आवासीय नेपालीका हकहित र अधिकार, ज्ञान, सीप र प्रविधिसहितको एनआरएनए, एनआरएनए फाउण्डेशन, नेपाल र नेपाली पर्यटनको प्रवर्द्धन, युवा महिला र दोस्रो पुस्ता तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरुसंगको सहकार्य लगायतका विषयका विभिन्न ५५ बुँदे प्रतिवद्धताहरु अघि सार्नुभएको छ ।

प्रतिबद्धता पत्रमा वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने, नेपालमा लगानी भित्र्याउन स्थापना गरिएको एनआरएनए नेपाल डेभ्लपमेन्ट फन्डलाई अघि बढाउने, १० अर्बको कोषलाई थप बृहत् बनाउने, गैर आवासीय नेपाली र वैदेशिक लगानी आकर्षित गर्न दोहोरो कर छूटसम्बन्धी सम्झौता गर्न सरकारसँग पहल गर्ने लगायतका विषय रहेका छन् । 

कार्यक्रममा डा केसीले गैर आवासीय नेपाली सङ्घलाई डिजिटल तथा स्मार्ट बनाउँदै दर्ता भएका सबै गैर आवासीय नेपालीहरूले निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि क्रियाशील हुने बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्षको पदका लागि अष्ट्रेलियाका धर्मराज अधिकारी र बेलायतका डा हेमराज शर्मा, डिबी क्षेत्री (ओमान), यासमिन बेगम शैयद (साउदी अरेबिया)ले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

त्यसैगरी, महासचिवमा गौरीराज जोशी (अमेरिका), रामशरण सिमखडा (युके), ओम गुरुङ (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा) ले उम्मेदवारी घोषणा गर्नुभएको छ भने महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका) ले उम्मेदवारी घोषणा गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button