घटस्थापनादेखि वीरगन्जमा सस्तो दसैँ बजार लगाइने

बीरगंज । नेपालीहरूको महान् पर्व दशैलाई लक्षित गर्दै आगामी असोज २१ गते घटस्थापनाको दिनबाट वीरगन्ज उद्योग वाणिज्य सङ्घले सस्तो दसैँ बजार लगाउने भएको छ ।
बजारको भाउभन्दा १० देखि २० प्रतिशतसम्म छुटमा सामाग्री बिक्री गर्ने अभिप्रायले सस्तो दसैँ बजार शुरु गर्न लागेको वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल पटवारीले बताउनुभयो ।
हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजय दशमीको अवसरमा उपभोक्ताहरूलाई सहुलियत दिने उद्देश्यले वीरगन्ज उद्योग वाणिज्य सङ्घले हरेक वर्ष सस्तो दसैँ बजार लगाउँदै आएको वरिष्ठ उपाध्यक्ष पटवारीले बताउनुभयो । गत वर्ष भने कोरोना सङ्क्रमणको महामारीका कारण दसैँ बजार लाग्न सकेको थिएन ।
साल्ट ट्रेडिंग, घरेलुसहित जिल्ला प्रशासन कार्यालय लगायतसँग समन्वय गरी सस्तो दसैँ बजार लगाइने पटवारीले बताउनुभयो ।
आदर्शनगरस्थित टिवडेवाल धर्मशाला परिसर भित्र आयोजना गरिने सस्तो दसैँ बजारमा आम उपभोक्ताहरूले प्रयोग गर्ने खाद्यान्न सहित किराना समानदेखि ग्याससम्मका सामाग्री सस्तो मूल्यमा उपलब्ध गराइने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताउनुभयो ।
चाडबाडको समयमा उपभोक्ताहरूलाई थोरै भए पनि सहुलियत दिएमा चाडबाडको रौनक बढ्ने र सङ्घको गरिमा पनि उच्च हुने विश्वासका साथ हरेक वर्ष वीरगन्ज उद्योग वाणिज्य सङ्घले सस्तो दसैँ बजार लगाउँदै आएको गुप्ताले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्