तपाईँ सुन्दै हुनुहुन्छः

‘आत्मदीपन’ : चित्रमार्फत उज्यालोको खोजी

नवलपुर । भित्तामा झुण्ड्याइएका तस्बिर मध्ये कुनामा एउटा फरक तस्बिर छ । 

हातले कोरिएको मानिसको चित्रमा कपाल मुण्डन गरिएको अनि निधारमा रातो टीका छ । 

जुँगा काटिएको तर लामा लामा दाह्री छन् । गेरु बस्त्र धारण गरेको मान्छेको घाँटीमा भने क्रस (जिसस) चिह्न भएको माला छ । जुन तस्बिरले सबैको ध्यान सजिलै खिचेको छ । 

एउटै व्यक्तिलाई कति कति धेरै प्रकारको रूप धारण गरिएको । तस्बिरले सबैको ध्यान खिचे पनि यसको अर्थ बुझ्न भने अलि कठिन नै छ । चित्रकार प्रकाश थापा ‘प्रथा’ले कोर्नुभएको उक्त तस्बिरले सबै जसरी गए पनि पुग्ने ठाउँ भनेको एउटै हो भन्ने अर्थ दिन खोजेको छ । “यो चित्रको मुण्डन गरिएको टाउको र टीकाले हिन्दु, जुँगा काटेर दाह्री पालेको हुँदा मुस्लिम, गेरु वस्त्रले बौद्ध तथा घाँटीमा लगाएको क्रस मालाले क्रिश्चियन भन्ने अर्थ बुझाउँछ”, कलाकार थापा भन्नुहुन्छ, “यो तस्बिरले मान्छेको आकार प्रकार संसारभरि एउटै हुन्छ, दिमाग फरक हुन्छ, जाने ठाउँ एउटै हुन्छ, तर पुग्ने ठाउँ एउटै हुन्छ भनेर भन्न खोजेको हो ।” 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ स्थित किसान आर्ट ग्यालरीमा ‘आत्मदीपन’ चित्रकला प्रदर्शनी भइरहेको छ । हामी कलाकार, त्रिवेणी साहित्य परिषद् र कलावती आर्ट काउन्सिलको आयोजनामा आयोजना गरिएको प्रदर्शनी दसैँको पूर्णिमासम्म सञ्चालन हुनेछ । 

सो प्रदर्शनीमा नवलपुर तथा चितवनका विभिन्न १७ कलाकारले कोरेका ५२ तस्बिर राखिएका छन् । मन परेको तस्बिर प्रदर्शनी स्थलबाटै किन्ने व्यवस्थासमेत मिलाइएको छ । 

प्रदर्शनीमा राखिएका तस्बिरले शीर्षकलाई प्रतिनिधित्व गर्ने कलाकार थापाले बताउनुभयो । “प्रदर्शनीमा राखिएका तस्बिर शीर्षकअनुसार भयो भएन भन्दा पनि चित्रबाट मानिसको मुहारमा पक्कै खुसी ल्याउँछ”, थापाले भन्नुभयो, “हो त्यही खुसी अर्थात् उज्यालो ल्याउनु हो हाम्रो उद्देश्य ।” प्रदर्शनीमा थापाका तीन चित्र राखिएका छन् । सबै चित्रले बुद्ध दर्शन समेट्दै शान्तिको चाहना राखेका थापाले बताउनुभयो । 

चित्रकलाप्रति आकर्षण बढ्दै पछिल्लो समय युवापुस्तामा चित्रकलाप्रति आकर्षण बढ्दै गएको कलाकारको भनाइ छ । ‘हामी कलाकार’का अध्यक्ष भीम शर्माले पहिलेको तुलनामा चित्रकलाप्रति मानिसको आकर्षण बढ्दै गएको बताउनुभयो । “चित्रकला प्रदर्शनीको अवलोकन गर्ने, मन परेको चित्र किनेर घरमा लगेर झुण्ड्याउने प्रचलन बढ्दै गएको छ”, शर्माले भन्नुभयो, “अहिले प्रत्येकका घरमा कुनै न कुनै तस्बिर झुण्ड्याइएका हुन्छन्, अलि ठुला घरले त बैठक कोठामा चित्रकारले कोरेका तस्बिर समेत राख्न थालेका छन् । 

हातले कोरेका तस्बिर स्वभावैले महँगो हुने गरेको शर्माले बताउनुभयो । “प्रदर्शनीमा आउने अथवा हाम्रो आर्ट ग्यालरीमा आउने मानिसले चित्र त मन पराउनुहुन्छ तर अलि महँगो भनेर भन्ने गर्नुहुन्छ”, शर्माले भन्नुभयो, “हातले चित्र कोर्न त्यति सजिलो छैन । सबै कुराको संयोजन गरेर बनाउँदा मेहनत धेरै लाग्ने भएका कारण चित्र महँगो पर्न जान्छ ।” 

प्रदर्शनीमा राखिने तस्बिर व्यावसायिक ठाउँमा राखिनेभन्दा फरक प्रकृतिको हुने गरेको कलाकार थापा बताउनुहुन्छ । “प्रदर्शनीमा राखिने चित्र प्रायः अमूर्त खालका हुने गर्दछन्, मानिसले झ्याप्प बुझ्न सक्दैनन् अनि बुझिनँ भनेर सोध्न पनि सक्दैनन्”, थापाले भन्नुभयो, “व्यावसायिक ठाउँमा राखिने तस्बिर हिमाल, झरना, गाउँ बस्तीका हुने गरेका छन्, त्यसैले प्रदर्शनीमा भन्दा व्यावसायिक ठाउँबाट बढी चित्र बिक्री हुने गरेको छ ।” कला बुझ्ने मानिस गम्भीर प्रकृतिका हुने जनाउँदै उहाँले पछिल्लो समय चित्रप्रति बिस्तारै लगाव बढ्दै गएको बताउनुभयो । 

प्रदर्शनीमा राखिएका तस्बिर हेर्नकै लागि अर्घाखाँची, धादिङलगायत जिल्लाबाट मानिस आएका कलाकार शर्माले बताउनुभयो । कोरोना सङ्क्रमण पूणर्रुपमा नियन्त्रण नभएकै अवस्थामा भए पनि कलाप्रति झुकाव राख्ने मानिस प्रदर्शनीमा आउने गरेका शर्माको भनाइ छ । सहजरुपमा हिँडडुल गर्ने अवस्था नहुँदासमेत टाढा टाढाबाट मानिस आएर प्रदर्शनी गर्दा आफूहरूको हौसला बढेको शर्माले बताउनुभयो । 

जीवन निर्वाहको आधार बन्दैचित्र कोरेरै जीवन निर्वाह गर्न सक्ने अवस्था सिर्जना हुँदै गएको छ । चित्रकार वरुणबाबु घिमिरे चित्र कोरेर जीवन निर्वाह हुने बताउनुहुन्छ । “स्थापित कलाकारलाई चित्र कोरेर जीवन निर्वाह गर्न खासै कठिन छैन”, घिमिरेले भन्नुभयो, “आफू र आफ्नो परिवारको सामान्य जीवन निर्वाह गर्न चित्रकलाबाट सकिन्छ, धेरै महत्त्वाकाङ्क्षी भइयो भने चित्रकलाबाट जीवन गुजारा हुँदैन ।” 

मानिसले घरका कोठा तथा अन्य ठाउँमा राख्नका लागि चित्र बनाउन भन्दै अग्रिम रुपमा ‘अर्डर’ गर्ने गरेका घिमिरेले बताउनुभयो । बढी मात्रामा प्राकृतिक चित्र मानिसले रुचाउने गरेको आफूले पाएको घिमिरेको भनाइ छ । मूर्तचित्र बढी बिक्री हुने गरेका भए पनि अमूर्त आकारका चित्र बिक्रीमा समस्या हुने गरेको घिमिरेले बताउनुभयो । 

उपहारमा चित्रकला सामग्रीपछिल्लो समय चित्र उपहारका रुपमा प्रदान गर्ने प्रचलनसमेत बढ्दै गएको छ । कलाकार थापाले चित्र ‘गिफ्ट’का रुपमा दिन थालिएको जनाउँदै शुभ कार्यमा चित्र प्रदान हुन थालेको बताउनुभयो । “विवाह, व्रतबन्ध, जन्मोत्सव, चौरासी पूजा, म्यारिज एनिभर्सरीमा उपहार दिने चित्रको माग बढ्दो छ”, थापाले भन्नुभयो, “शुभ कार्यमा जसले शुभ कार्य गर्दै छ उसैका चित्र कोर्न लगाउने तथा प्राकृतिक चित्रले लगेर गिफ्ट गर्ने प्रचलन बढेको छ ।” 

शुभ कार्यमा हातले कोरिने चित्र तथा मूर्तिको माग हुने गरेको कलाकार भीम शर्माले बताउनुभयो । तीन चार महिना अगाडिदेखि नै मानिसले आफूलाई आवश्यक पर्ने तस्बिर कोर्नका लागि अर्डर दिने गरेका शर्माले बताउनुभयो । “पेन्टिङ घरमा राख्ने प्रचलन बढ्दै जाँदा पनि शुभ कार्यक्रममा उपहारका रुपमा हातबाट निर्माण गरिएका चित्र तथा मूर्ति दिने प्रचलन बढेको हो”, शर्माले भन्नुभयो, “शुभ कार्यमा चित्रकला सामग्री उपहार दिने प्रचलन बढ्दै जाँदा कलाकारको आर्थिक अवस्थामा केही भए पनि सुधार आउँछ ।” 

प्रदर्शनीमा बुद्ध दर्शनका चित्र पूर्वपश्चिम राजमार्गबाट २०० मिटरको दूरीमा चित्रकला प्रदर्शनी भइरहेको छ । देशकै आर्थिक केन्द्रका रुपमा नारायणगढ बजारबाट दुई किलोमिटर पश्चिमतर्फ नवलपरासी ९बर्दघाट(सुस्तापूर्व०को गैँडाकोट(४ कालिगण्डकी चोक नजिकै सहज सामुदायिक अस्पतालसँग किसान आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । सो प्रदर्शनीमा राखिएका ९० प्रतिशतभन्दा बढी चित्र बुद्ध दर्शनसँग सम्बन्धित छन् । 

“हामीले बुद्ध जयन्तीको अवसर पारेर चित्रकला प्रदर्शनी गर्ने योजना बनाएर अघिल्लो वर्षदेखि नै तयारी थालेका थियौँ”, कलाकार शर्माले भन्नुभयो, “बुद्ध जयन्तीका बेला कोभिड सङ्क्रमणका कारण निषेधाज्ञा जारी हुँदा प्रदर्शनी गर्न सकिएन, त्यसैले अहिले तिनै चित्र प्रदर्शनी गरिएको हो ।” बुद्ध दर्शनसँग सम्बन्धित नाम दिएर प्रदर्शनीको नाम ‘आत्मदीपन’ राखिएको भन्दै शर्माले चित्रमा सत्य, प्रेम, शान्ति, अहिंसा र धर्मलाई जोड्ने बुद्धका पाँच उपदेशको सन्देश दिन खोजिएको बताउनुभयो । 

काठमाडौँ र पोखरामा चित्रकला प्रदर्शनी भइरहने भए पनि अन्य ठाउँमा प्रदर्शनी खासै नहुने गरेको जनाउँदै आफूहरूले नवलपुरमा नियमित रुपमा चित्रकला प्रदर्शनी गर्ने तयारी थालेको शर्माले बताउनुभयो । “नवलपुर कलाका क्षेत्रमा उर्वर भूमि हो, त्यसैले हामीले अब वर्षमा कम्तीमा पनि दुई वटा चित्रकला प्रदर्शनी गर्ने जमर्को गरेका छौँ”, शर्माले भन्नुभयो, “प्रदर्शनी अवलोकनका लागि शिक्षक, प्राध्यापक, कलाकार, बौद्धिक चिन्तन गर्ने मानिस, पत्रकार आउने गरेका छन् ।” 

एउटै तस्बिरको ८० हजार यही असोज ८ गतेदेखि सुरु भएको प्रदर्शनीमा राखिएका सबै चित्रको फरक फरक मूल्य राखिएको छ । प्रदर्शनीमा राखिएका ५२ वटै चित्रको फरक फरक मूल्य रहेको छ । प्रदर्शनीमा रु आठ हजारदेखि रु ८० हजारसम्मका चित्र राखिएका छन् । कलाकार दामोदर बरालले बनाउनुभएको बुद्धको चित्रको मूल्य रु ८० हजार राखिएको छ । 

प्रदर्शनी सुरु भएको तेस्रो दिनमा नै कलाकार बरालले कोर्नु भएको तस्बिर बिक्री भइसकेको छ । सो तस्बिर गैँडाकोटकै स्थानीयले किनेर लगेका कलाकार शर्माले जानकारी दिनुभयो । त्यसैगरी अन्य केही तस्बिर समेत प्रदर्शनी स्थलबाट बिक्री भइसकेका छन् । 

“प्रदर्शनीमा राखिएका केही तस्बिर बिक्री भइसकेका छन्, केही तस्बिर लैजाने भनेर बुकिङ गरिएको छ”, कलाकार शर्माले भन्नुभयो, “प्रदर्शनीमा राखिएको कमलको फूल र बुद्ध भएको तस्बिर गण्डकी प्रदेशका मुख्यमन्त्रीले लैजाने भनेर अरूलाई नबेच्न भन्नुभएको छ ।” प्रदर्शनीमा राखिएका तस्बिर मध्ये आधाभन्दा बढी तस्बिर बिक्री हुने आफूहरूको अनुमान रहेको शर्माले बताउनुभयो । गैँडाकोट नगरपालिका प्रमुख र उपप्रमुखले समेत प्रदर्शनीमा राखिएकामध्ये केही तस्बिर लैजाने प्रतिबद्धता जनाउनुभएको शर्माको भनाइ छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button