तपाईँ सुन्दै हुनुहुन्छः

गड्डाचौकी नाकामा चेकजाँचका लागि कुकुर परिचालन

 कञ्चनपुर । चाडपर्वका लागि घर फर्किनेको चाप बढेसँगै गड्डाचौकी नाकामा चेकजाँचका लागि कुकुर परिचालन गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीस्थित कुकुर शाखाबाट ‘लिलि’ नामको कुकुर परिचालन भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले दशैं तिहार सुरक्षा योजना अन्तरगत नाकामा कुकुर परिचालन गरिएको बताउनुभएको छ । 

“पटाका लगायत विस्फोटक पदार्थ र लागु औषधको ओसारपसार रोक्न कुकुर परिचालन गरिएको हो”, उहाँले भन्नुभयो, “नियमित चेकजाँच पनि चलिरहन्छ ।”

न्यौपानेका अनुसार लिलि दुई/तीन दिन नियमित रुपमा नाकामा रहन्छ । त्यसपछि पनि आकस्मिक रुपमा परिचालन गरिनेछ ।

जिल्ला प्रहरी कार्यालयले आजैदेखि दशँै तिहार सुरक्षा योजना समेत लागु गरेको छ । गस्ती र चेकजाँच बढाउनुका साथै सादा पोसाकका प्रहरी समेत परिचालन गरिएको डिएसपी न्यौपानेले बताउनुभएको छ 

उहाँका अनुसार अहिले सामान्य अवस्थाभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । 

प्रदेश प्रहरी कार्यालयबाट सुरक्षाकर्मी थप भएको छ । आजदेखि छठ पर्व सकिदासम्म दशैं तिहार सुरक्षा योजना लागु रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button