तपाईँ सुन्दै हुनुहुन्छः

हुलाकी राजमार्ग अन्तर्गत कर्णाली पुलको मर्मत कार्य मङ्गलवार सकिँदै

टीकापुर, कैलाली । हुलाकी राजमार्ग जोड्ने कर्णाली नदीमा भासिएको पुलको मर्मत कार्य मङ्गलवारसम्म सकिने निर्माण कम्पनीले जनाएको छ । साउनको अन्तिम साता कर्णाली नदीको बहावले पुलको पिलर भासिएर दुई स्पान जोडिएको भागमा चिरा परेको थियो भने पुल पनि दश सेन्टिमिटर जति बाङ्गिएको थियो ।  

दश दिनदेखि मर्मत कार्यमा लागेको रसुवा कन्ट्रक्सनले अध्ययन गरेर स्पान लिफ्टिङ गरिसकेको र सोझ्याएर मिलाउने काम भइरहेको रसुवा कन्ट्रक्सनका मेकानिकल इन्जिनियर विष्णुहरी धितालले जानकारी दिनुभयो । पुल मर्मतको काममा रसुवा कन्स्ट्रक्सनका सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर, ओभरसियर गरी १७ जनाले दैनिक रुपमा काम गरिरहेका छन् ।  

इन्जिनियर धितालका अनुसार दबेको पिल्लरमाथिको स्पानलाई उठाएर लेबल मिलाइसकेपछि एपोक्सी केमिकल हाल्ने र त्यसलाई २४ घण्टासम्म सेट हुन दिएर पुल आवतजावतका लागि खुला गरिनेछ  । पुल मर्मतको काम भइरहेकाले केही दिन यता कर्णाली पुलमा आवतजावत बन्द छ । आवतजावत बन्द हुँदा यात्रीलाई समस्या भइरहेको छ । 

छ वर्षअघि रसुवा कन्स्ट्रक्सनले निर्माण गरेको पुलमा समस्या आएपछि निर्माण कम्पनीले नै मर्मत गरिदिन लागेको हुलाकी राजमार्ग आयोजनाको नेपालगन्ज कार्यालयका प्रमुख गागल भण्डारीले बताउनुभयो  । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलाई जोडने पुल भासिएपछि आवतजावतमा समस्या भइरहेको छ । मर्मत कार्य भइरहेको पुलको आइतबार लुम्बिनी प्रदेशका  प्रदेश प्रमुख अमिक शेरचनले पनि अवलोकन गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button