तपाईँ सुन्दै हुनुहुन्छः

जलजलाका सबै विद्यालयमा ल्यापटप र प्रिन्टर

पर्वत । पर्वतको जलजला गाउँपालिकाले सबै विद्यालयमा ल्यापटप र प्रिन्टर उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने हेतुले गाउँपालिकाले ल्यापटप र प्रिन्टर उपलब्ध गराइएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार ४४ वटा विद्यालयलाई प्रविधि हस्तान्तरण गरिएको हो । 

पर्वतको जलजला गाउँपालिकाले विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिका भित्रका सबै विद्यालयहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ । प्रा.वि. तहसम्म सञ्चालनमा रहेका आधारभूत विद्यालय, कक्षा आठसम्म सञ्चालनमा आधारित रहेका आधारभूत विद्यालय र त्यसभन्दा माथि कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको विद्यालयहरूको लागि सामाग्री वितरण गरिएको क्षेत्रीले बताउनुभयो । 

स्थानीय तहभित्र रहेका आठ वटा प्रत्येक माध्यमिक विद्यालयलाई थप १/१ वटा ल्यापटप समेत दिइएकाले ७० हजार रुपैयाँका दरले ५२ वटा ल्यापटपका लागि ३६ लाख ४० हजार रुपैयाँ र ४४ वटा विद्यालयलाई ३१ हजार मूल्य परेका १३ लाख ६४ हजार रुपैयाँका फोटोकपी र स्क्यान सुविधा सहितका प्रिन्टरहरू प्रदान गरिएको हो । विद्यालयलाई सङ्घीय सरकारले नै इन्टरनेटका लागि वार्षिक १२ हजार रुपैयाँ दिने भएका कारण हरेक विद्यालयले एकीकृत रूपमा विवरणहरू अद्यावधिक गराउन तथा शिक्षण सिकाइमा समेत प्रविधिको प्रयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले विद्यालयका विवरणहरूलाई एकीकृत रूपमा अनलाइनमा राख्ने सम्बन्धी प्रशिक्षण यस अगाडि नै गरिसकिएको भए पनि कम्प्युटरबाट गर्न सकिने अन्य कामहरूको बारेमा सिकाउन पुन पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । शिक्षामा बढी केन्द्रित रहेकाले नै उपकरण प्रदानदेखि भौतिक पूर्वाधार निर्माणका कामहरू पनि गरिरहेको मल्लको भनाई छ ।

गाउँपालिकाको वडा नं. ६ शालिजाको सर्वोदय प्राथमिक विद्यालयकी शिक्षक सेतीमाया पाइजा पुनले स्थानीय सरकारको सहयोगले विद्यालयलाई प्रविधिमा जोड्न सहज हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button