तपाईँ सुन्दै हुनुहुन्छः

ऋण प्रवाहमा ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह गर्नुभएको छ । 

आइतबार माइक्रो फाइनान्स एसोसिएसन अफ नेपालको माग पत्र बुझ्दै मन्त्री शर्माले गाउँ गाउँसम्म पहुँच रहेका लघु वित्त संस्थाहरूले ब्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने धारणा राख्नुभयो । 

लघु वित्त संस्थाहरूले तय गरेको ब्याजदर घटाउनको लागि सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि आफू तयार रहेको जानकारी गराउँदै मन्त्री शर्माले यसको लागि कार्य योजना प्रस्ताव बनाएर ल्याउन लघु वित्त संघका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । 

अर्थमन्त्री सँगको भेटमा प्रतिनिधिमण्डलका सदस्यहरूले वाणिज्य बैङ्कहरूबाट ऋण लिएर लघुवित्त सञ्चालन हुने गरेकोले त्यसमा लाग्ने ब्याजदर नघटेसम्म लघुवित्तहरूको व्याज घटाउन सम्भव नहुने जानकार गिराउनु भएको थियो । 

एसोसिएसनका अध्यक्ष जगत बहादुर पोख्रेल नेतृत्वको प्रतिनिधि मण्डलले पेस गरेको माग पत्रमा राष्ट्रिय लघुवित्त नीति २०६४ मा व्यवस्था भए बमोजिमको कोषको स्थापना गर्नुपर्ने, लघुवित्तमा लाग्ने संस्थागत कर अरूलाई आधा घटाउनुपर्ने, समूह सदस्यको बचतको व्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने तथा संस्थामा आबद्ध व्यक्तिको जीवन रक्षा र जीविकोपार्जनको लागि बिमा गर्ने र बिमा कम्पनीहरूले पुनर्विमा सेवा दिनुपर्ने मागहरू समावेश गरिएको छ । 

नेपालका सबै जिल्लामा हाल ७० लघुवित्त संस्थाहरू क्रियाशील रहेका छन् । जसमा राष्ट्रिय स्तरका ४८ प्रदेश तथा स्थानीय स्तरका २२ वटा रहेका छन् । लघुवित्त संस्थाहरूमा कुल ३९ अर्ब ९२ करोड बराबरका अर्ब बराबरको लगानी रहेको छ । 

निक्षेप पुँजी १ खर्ब ३० अर्ब ४२ अर्ब भन्दा बढी रहेको लघुवित्तहरूले ३ खर्ब ६५ अर्ब ऋण लगानी गरेका छन् । लघु वित्तबाट ऋण लिनेहरू ९७.८ प्रतिशत महिला रहेका छन् । लघु वित्त संस्थाहरूले १० देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button