तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय केरा आयातमा रोक लगाउन अनुरोध

चितवन । भारतीय केराले नेपाली केरा किसान मारमा परेको भन्दै चितवनका किसानहरूले भारतीय केरा आयातमा रोक लगाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

कोरोना कहरका कारण चितवनसहित विभिन्न जिल्लाका किसानहरूले उत्पादन गरेको केरा खेतमै तयारी अवस्थामा रहेकोमा भारतबाट वैध तथा अवैध रूपमा केराहरू भित्रनु दुःखद रहेको चितवन केरा उत्पादक सङ्घले एक विज्ञप्ति मार्फत जनाएको छ ।

देशका ठूला बजारहरूमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र मन्डीका केही ठुलो फलफूल व्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा जनाइएको छ । 

चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा नेपाली किसानको उत्पादनलाई कम भन्दा कम दरमा केरा खरिद गरी किसानलाई मार्ने काम भएको भन्दै भारतीय केरा तत्काल रोक्न माग गरिएको छ । 

नेपाली केरा किसानहरू भारतीय आयातित केराको कारण विस्थापित हुने अवस्था समेत  देखिएको भन्दै अविलम्ब भारतीय केरा नेपालको चेक पोस्टमा विषादी र पेष्टिसाईड कडाइका साथ चेकजाँच गर्नुपर्ने, आयात हुने केराको भन्सार दर रेट वृद्धि गरी अङ्कुश लगाउनुका साथै नेपाली केराको उत्पादन वृद्धि र नेपालमा उत्पादन भएका केराको बजार व्यवस्थापन गर्न पनि विज्ञप्ति मार्फत सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

नेपाली केराको उचित मूल्य निर्धारण गरी उचित मूल्य दिलाउन, किसानहरूको आर्थिक अवस्था सबल बनाउन भारतीय केरा आयातमा तत्काल रोक लगाउनुको विकल्प नभएको बताइएको छ । 

साथै किसानको समस्या समाधान अविलम्ब समाधान नभएको खण्डमा बाध्य भएर भारतबाट आयातित हुने केरा बोकेका भारतीय केरा गाडीलाई नियन्त्रणमा लिन तथा सम्पुर्ण केरा किसानहरू आन्दोलन गर्न बाध्य हुने समेत अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

व्यावसायिक केरा खेतीको लागि अब्बल जिल्लाको रूपमा परिचित चितवनमा हाल ७ सय १२ जना व्यावसायिक किसानहरूले केरा खेती गर्दै आएका छन् । जिल्लामा ३ हजार ५० बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button