हेटौँडा उपमहानगरपालिकाले हेटौँडा दौड आयोजना गर्ने
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा रन (दौड) प्रतियोगिता आयोजना गर्ने भएको छ । विजया दशमी २०७८ को अवसरमा हेटौँडा उपमहानगरपालिका र नगर खेलकुद विकास समितिको आयोजनामा यही असोज २१ गते घटस्थापनाको दिन प्रतियोगिता आयोजना हुने भएको हो ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले हेटौँडाको बुद्ध चोकबाट दौड सुरु भएर कान्ति राजपथ हुँदै हेटौँडा–५ स्थित क्याम्पा डाँडा पुगेर पुनः सोही बाटो फर्किएर बुद्ध चोकमै आएर दौडको समापन हुने जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी धावकहरूले कुल ६६ किलोमिटर दौडनुपर्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार प्रदान गरिने जनाइएको छ ।
कार्यक्रम आयोजना गर्न कुल २ लाख रुपैयाँ खर्च लाग्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।
अध्यक्ष शाहीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो ।
प्रतियोगिताको उद्घाटनका साथै समापन पनि सोही दिन बुद्ध चोकमै आयोजना भएर पुरस्कार वितरण गरिने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्