तपाईँ सुन्दै हुनुहुन्छः

एमालेमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने

काठमाडौँ । नेकपा (एमाले)को जारी प्रथम विधान महाधिवेशनमा तीन वटै प्रतिवेदनमाथिको जवाफ सुरु भएको छ । 

ललितपुर, गोदावरीको सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा अहिले १० वटा समूहगत छलफलपछि विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा जवाफ दिने क्रम सुरु भएको छ । 

महाधिवेशनमा विधान संशोधनमाथि समूहगत रुपमा उठेको सुझावको जवाफमा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले १५ जना पदाधिकारीको व्यवस्था  भएको बताउनुभयो । 

उहाँका अनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, चार जना उपाध्यक्ष, एक जना महासचिव, एक जना उपमहासचिव र सात जना सचिवको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । 

यसअघि विधान संशोधन प्रस्ताव पेस गर्दै एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ जना सचिव गरी १२ जना पदाधिकारी रहने व्यवस्थासहितको प्रस्ताव गरिएको थियो । 

एमालेमा २२५ जनाको केन्द्रीय कमिटी रहने विधान संशोधनमा गरिएको छ । यस्तै महानगरपालिकामा १०१ नगर कमिटी, उपमहानगरपालिकामा ८५, नगरपालिका र गाउँपालिकामा ७५ कमिटी रहने उहाँले जानकारी दिनुभयो । 

उहाँले सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउने बताउनुभयो । त्यस्तै लेखा परीक्षण आयोगको नाम लेखा आयोग भएको छ । 

सुझावको आधारमा जवाफ दिने क्रममा प्रत्येक प्रदेशमा ५० जनाको कमिटी रहने उहाँले जानकारी दिनुभयो । आजै राजनीतिक प्रतिवेदनमाथि पार्टी अध्यक्ष केपी शर्मा ओली र साङ्गठनिक प्रतिवेदनमाथि महासचिव ईश्वर पोखरेलले जवाफ दिनुहुने छ । 

उहाँहरूले प्रतिवेदनमाथि जवाफ दिइसकेपछि महाधिवेशनले तीन वटै प्रतिवेदन पारित गर्ने भएको पनि बताइएको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button