तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुद क्षेत्रको विकास एवं विस्तारका लागि पहल गर्ने : पूर्व मन्त्री लेखक

कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले खेलकुद क्षेत्रको विकास एवं विस्तारका लागि पहल गर्ने बताएका छन् ।

आज कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घले आयोजना गरेको जिल्ला स्तरीय पुरुष डबल्स र जुनियर सिङ्गल ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै नेता लेखकले खेल क्षेत्र स्वास्थ्यका निम्ति पनि महत्त्वपूर्ण रहेको बताउँदै यसको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

आगामी असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता उद्घाटन समारोहमा संघका अध्यक्ष मीनराज भट्टले ब्याडमिन्टन प्रशिक्षक अभाव हुँदा लामो समयदेखि खेलाडी उत्पादन प्रभावित बनिरहेको बताए ।

त्यसै गरी ब्याडमिन्टन प्रतियोगिताका संयोजक शेरबहादुर सिंहले जिल्लामा ब्याडमिन्टनको ‘क्रेज’ बढिरहेको बताए । प्रतियोगितामा जुनियरतर्फ २२ जना र सिनियरतर्फ ५८ टिम सहभागिता रहेको उनले जानकारी दिए । पहिलो खेलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत र कर्ण बोहराको टिमले विजयी सुरुवात गरेको छ । बस्नेत र बोहराको जोडीले हर्क थापा र सुदिपकुमार थापाको जोडीलाई सोझो सेटले पराजित गरेको छ ।

उद्घाटन समारोहमा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका न्यायाधीश कृष्णलाल भट्टराई, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसी, बक्सिङ्ग ओलम्पियन डम्बरदत्त भट्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button