तपाईँ सुन्दै हुनुहुन्छः

विमानस्थल उद्घाटन हुने भएपछि पर्यटन व्यवसायी उत्साहित

कास्की  । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएसँगै पोखराका स्थानीयवासी उत्साहित भएका छन् ।  


कोरोनाले लामो समय पर्यटन व्यवसाय ठप्प रहँदा विमानस्थल खुल्ने खबरले व्यवसायीहरू आशावादी देखिएका हुन् । 

काठमाडौँ बाहिर पहिलो पटक पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लाग्दा पोखराका पर्यटन व्यवसायीहरू उत्साहित भएका हुन् । 

विमानस्थलको करिब ८४ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी निमार्ण पक्षले दिएको छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अन्तर्राष्ट्रिय उडान भरेर सन्देश दिनुपर्नेमा जोड दिनुभएको छ । 

अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीका नेपाल प्रमुखहरूलाई पोखरा बोलाएर छलफल पनि गर्न सकिने अवधारणा प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो  “उडान त अब हुन्छ नै, आन्तरिक उडान नै भए पनि सुरु गरौैं न भन्ने भावनालाई पनि कदर गर्नुपर्छ तर सन्देश दिने भनेको अन्तर्राष्ट्रिय उडानबाट नै हो ।” 

अहिले भएको ल्यान्डफिललाई स्थानान्तरण गर्ने कुरा अहिले महत्त्वपूर्ण रहेको मुख्यमन्त्री पोखरेलको भनाइ रहेको छ ।  

तर, विमानस्थल बाहिरको बाटो, पुल, बसपार्कको भने अवस्था अझै सुध्रन सकेको छैन । यसका कारण विमानस्थलले आफ्नो क्षमता अनुसारको सुविधा दिइराख्न नसक्ने र पछि विमानस्थल महँगो हुनसक्ने नागरिक उड्डयन प्राधिकरण पोखरा प्रमुख विक्रम गौतम बताउनुहुन्छ । 

विमानस्थलले जनवरीदेखि आन्तरिक उडान र असारसम्म अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य लिएको छ । 

“एयरपोर्टलाई पूरा प्रयोग गर्न नसके स्वाभाविक रुपमा महँगो हुन्छ, विमानस्थल बाहिर निस्केपछि पोखराको अवस्था कस्तो छ ?” गौतमको प्रश्न छ, “तार गज्याङगुजुङ, बाटोभरि खाल्टै खाल्टा, गाडी जाम । कसरी पर्यटकहरूले पोखरा रुचाउँछन् अनि ?” 

पश्चिमाञ्चल होटल सङ्घले राखेको अनियन्त्रितmया कार्यक्रममा बोल्दै गौतमले विमानस्थलसँगै पोखराका अन्य पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । 

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्व शङ्कर पालिखेले विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडान भरेर गरिनुपर्ने सुझाव राख्नुभएको छ   । 

उहाँले हतासमा विमानस्थल सञ्चालन नगर्न आग्रह गर्नुभएको छ । चिनियाँ पक्षलाई बोलाएर उद्घाटन गराएर ऋणलाई अनुदानमा बदल्ने तर्क उहाँको रहेको  छ । 

त्यस्तै, आउने जनवरीदेखि विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहँदा विमानस्थल बाहिरको संरचनाले कस्तो सन्देश दिने छ भन्नेमा पोखराका स्थानीबासीहरु चिन्तित बनेका छन् ।

पोखरा आउने पर्यटकहरूको लागि खानेपानी, स्वास्थ्य सुरक्षा, बाटो, पुल, विद्युतीय पोलहरूको पनि उचित व्यवस्थापन गरे मात्र पोखराको सुन्दरता बढ्ने र पर्यटन आकर्षण बढ्ने पर्यटन व्यवसायीहरूले विश्वास लिएका छन् । विमानस्थल मात्र बनाएर नहुने पोखरेली व्यवसायी, राजनीतिज्ञ र आम सर्वसाधारणको भनाइ रहेको थियो । 

अन्योलमा प्याराग्लाइडिङ
पोखराको सराङकोट कास्कीकोट लगायत स्थानबाट हुँदै आएको प्याराग्लाइडिङ भने अन्योलमा परेको छ ।  

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ, अल्ट्रालाइट के हुने भन्ने अझै अन्योल छ । 

पोखरा साहसिक खेलकुदहरूमा परिचित प्याराग्लाइडिङ तथा हवाई खेलकुदको हब भएकाले यी क्षेत्रबारे जानकारी दिइनुपर्नेमा पर्यटन व्यवसायीहरूको माग रहेको छ । 

ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान) पोखराका अध्यक्ष सुशील पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बन्द हुने क्षेत्रहरू खुलाइनुपर्ने बताउनुभयो  । 

ल्यान्डफिल व्यवस्थापन समस्या
पोखरा महाागलपालिकाको फोहोर अहिले पोखरा १४ बाच्छीबुडुवामा विसर्जन गरिन्छ । 

महानगरले अर्को जग्गामा ल्यान्डफिल सार्दा त्यहाँको संरचनासँगै नयाँ जग्गा र साइटका लागि ठूलो बजेटको खाँचो पर्ने पोखरा महानगरपालिकाका सरसफाइ शाखा प्रमुख कल्पना बराल बताउनुहुन्छ । 

दुई सय रोपनीको जग्गामा मलमूत्र व्यवस्थापनका लागि ८० रोपनीको फिल्ड छ । यसको व्यवस्थापन नहुने हो भने विमानस्थलबाट सन्देश नराम्रो जाने भन्दै व्यवसायी चिन्तित बनेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button