गण्डकी विश्वविद्यालयमा आजदेखि पठनपाठन सुरु

पोखरा । गण्डकी विश्वविद्यालयमा आजदेखि अध्ययन/अध्यापन सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारले गठन गरेको दुई वर्षपछि विश्वविद्यालयले अध्ययन /अध्यापन सुरु गरेको हो ।
नेपालमा नै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ‘व्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (बिएसएम) र व्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बि आइटी) विषयमा अध्ययन अध्यापन सुरु गरेको गण्डकी विश्वविद्यालयले जनाएको छ ।
उक्त विश्वविद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गरेर जान सक्ने गरी जनशक्ति उत्पादन हुने विश्वासका साथ पठनपाठन सञ्चालन गरिएको विश्वविद्यालयका न्यासिक परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले जानकारी दिनुभयो ।
नेपालको इतिहासमा नै पहिलो पटक खेलकुद विषयमा हुन लागेको पढाइमा विद्यार्थीको निकै आकर्षण देखिएको उहाँले बताउनुभयो ।
गण्डकी विश्वविद्यालयले सुरुवातसँगै स्नातक तह ‘व्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (विएसएम) विषयमा १६ जना, व्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (वि आइटी) विषयमा ३१ जना र विफर्मामा २० जना गरी ६७ जना विद्यार्थी अध्ययन गर्ने जनाएको छ ।
सर्टिफिकेटको भन्दा पनि व्यावसायिक जनशक्तिको निकै खाँचो रहेको वर्तमान अवस्थामा उक्त विश्वविद्यालयबाट रोजगार र व्यवसायीक प्रवर्द्धनमुखी जनशक्ति उत्पादन हुने आशा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्