वालिङका किसान गँड्यौला पालनतर्फ आकर्षित
स्याङ्जा । स्याङ्जाको वालिङका किसान अर्ग्यानिक कम्पोस्ट मल बनाउन गँड्यौला पालनतर्फ आकर्षित भएका छन् ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘हरित पुनः उत्थान प्रवर्द्धन परियोजना’ अन्तर्गत वालिङका १४ वटै वडाका किसानलाई जैविक कम्पोस्ट मल बनाउन प्रेरित गरिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो ।
खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगलाई निरुत्साहित गर्दै अर्ग्यानिक कम्पोस्ट मल बनाउन किसानलाई प्रेरित गर्नका लागि गँड्यौला पालनका लागि आवश्यक सामग्री, तालिम तथा गँड्यौला वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
नगरपालिकाभित्र ३१० गाउँबाट एक/एक जनाको प्रतिनिधित्व हुने गरी तालिम दिइने र पछि उनीहरूले नै गाउँमा अन्यलाई सिकाउने अध्यक्ष गुरुङको भनाइ थियो । कुहिने फोहोरलाई गड्यौले मल बनाउन प्रयोग गर्न सकिने, विषादी निरुत्साहित गर्ने, रासायनिक मलको प्रयोगमा कमी गर्ने र उत्पादकत्व वृद्धि गर्न यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कार्यक्रम संयोजक विशाल बगालेको छ ।
गडयौला पाल्न इच्छुक किसानलाई निःशुल्क गँड्यौला, बिन तथा तालीम उपलब्ध गराएको र किसानले उत्पादन गरेका गँड्यौला अन्य किसानलाई प्रतिकिलो दुई हजार २०० देखि तीन हजारसम्म बिक्री गर्ने गरेको तालिम संयोजक बगाले बताउनुभयो ।
गडयौला मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउँछ र बाली बिरुवाको वृद्धि विकास पनि छिटो हुने गर्छ । झारपात र घरमा निस्कने कुहिने फोहोरबाट गड्यौलापालन गरी जैविक मल उत्पादन गर्न सकिन्छ ।








प्रतिक्रिया राख्नुहोस्