तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्ष उत्पादनमा कमी, फूलको माग बढ्यो

काठमाडौँ । कोभिड–१९ को कारण यस वर्ष फूल उत्पादनमा कमी आए पनि माग बढेको छ । कोरोना महामारीका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झैँ लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो ।

फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोनाको कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पादनमा पनि देखिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत बढी फूलको माग रहेको बताइएको छ । कोरोनाका कारण दैनिक रुपमा रु एक करोडको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब रु ५० लाखको कारोबार गर्न थालेको छ ।

कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो । अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना सङ्क्रमण दर पनि बिस्तारै हट्दै गइरहेकाले यस व्यवसायले गति समाएको हो । 

अझै पनि मठमन्दिर, होटेल, पार्टी प्यालेस र पर्यटन व्यवसाय पूर्ण रूपमा सञ्चालनमा नआएका कारण नोक्सान भोग्नुपरेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

पछिल्ला वर्षमा सयपत्री फूलमा देश आत्मनिर्भर हुँदै गएको छ । मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । 

अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थाले पनि यस वर्ष भने उत्पादनमा कमी रहेको छ ।

अघिल्ला वर्षमा वार्षिक रूपमा रु तीन अर्ब फूलको कारोबार हुने गरेको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिक रूपमा विदेशबाट आयात गरिँदै आएको छ । असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङ लगायत ४१ जिल्लामा ६७५ पुष्प खेती तथा नर्सरी विस्तार भइसकेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button