पूर्ण मास्क प्रयोगको सुनिश्चितता अभियान शुभारम्भ

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आजबाट पूर्ण मास्क प्रयोगको सुनिश्चितता अभियान शुभारम्भ गरेको छ । कार्यक्रम अन्तर्गत अब वीरगन्ज महानगरपालिका मातहतका कार्यालय, स्वास्थ्य केन्द्रबाट सेवा लिन अनिवार्य मास्क लगाउनुपर्ने भएको छ ।
पूर्ण मास्क प्रयोगको सुनिश्चितता शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विजय सरावगीले नजिकिँदै गरेको दसैँ, तिहार र छठ पर्वमा सर्वसाधारणको चहलपहल बढ्दा कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर मास्क प्रयोग अनिवार्य गरिएको बताउनुभयो ।
उहाँले कोरोना संक्रमण घट्दै गएपछि वीरगन्जमा पछिल्लो समय लापरबाही बढ्दै गएको बताउँदै मास्कको प्रयोग, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजर लगाउन नगर बासीले छोडिसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख अरुण महतोले नगर बासी मात्रै नभई महानगरका अधिकांश कर्मचारीले समेत मास्क नलगाउने गरेको बताउँदै अभियान अन्तर्गत वीरगन्जका १२ स्थानमा ‘मास्क बिना प्रवेश निषेध, ‘मास्क बिना कुराकानी निषेध र ‘मास्क बिना सेवा निषेध’ लेखिएको स्टिकर, पोस्टर लगाइने जानकारी दिनुभयो ।
मास्क लगाउन सचेतना जगाउने उद्देश्यले महानगरपालिकाबाट आज बिहान निकालिएको सचेतनामूलक र्याली घण्टाघर आएर सभामा परिणत भएको थियो ।
र्यालीमा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, विभिन्न नर्सिङ क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
र्यालीमा सहभागीले ‘मैले लगाएको मास्कले तपाईँलाई सुरक्षा दिन्छ, तपाईँले लगाएको मास्कले मलाई सुरक्षा दिन्छ’, ‘कान वा चिउँडोमा राख्दैमा मास्क लगाएको हुँदैन, नाक मुख छोपिने गरी मास्क लगाऔँ’ लगायतका सचेतनामूलक नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।








प्रतिक्रिया राख्नुहोस्