तीन वर्षसम्म कसैले गरेनन् २० वर्ष पुगेर विवाह

बझाङ । बझाङको साइपाल गाउँपालिकाले २०७६ सालदेखि बाल विवाह न्यूनीकरणको लागी २० वर्ष कटेपछि विवाह गरेका युवायुवतीलाई पुरस्कार दिने योजना बनायो ।
सोही योजना अनुरूप गाउँपालिकाले २० बर्ष उमेर पुगी बिहे गर्ने केटाकेटी दुबैलाई २० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्यो । तर, २०७६ सालदेखि अहिलेसम्म वडा कार्यालयमा विवाह दर्ता गराउन कोही आएनन् ।
गाउँपालिकाभरि तीन वर्षमा करिब ३० बालबालिकाले उमेर नपुग्दै बिहे गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो ।
विद्यालयमा विद्यार्थी तथा घर–घरमै गएर अभिभावकहरूलाई सम्झाउने गरे पनि बालविवाह न्यूनीकरण हुन नसकेको अध्यक्ष धामीले बताउनुभयो ।
गाउँमा जनचेतना र शिक्षाको अभावका कारण धेरैजसो बालविवाह हुने गरेको स्थानीय तथा गाउँपालिका इन्जिनियर तिलक विकले बताउनुभयो । बालविवाहले धेरै समस्या निम्त्याउनेबारे वर्षेनी विद्यालयहरूमा शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई सुझाव, सल्लाह दिँदा पनि कुनै परिवर्तन नभएको विकको भनाइ छ ।
साथै स्थानीयहरू विवाह दर्ता गर्न वडा कार्यालयमा नआउने र धेरैजसो छोराछोरी भइसकेपछि मात्र विवाह दर्ता गर्ने भएकाले वर्षमा कति जनाले विवाह गरे भन्ने तथ्याङ्क राख्नै कठिन हुने गरेको साइपाल गाउँपालिका वडा नम्बर ५ की वडा सचिव सुम्निमा गिरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्