जित्ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
काँग्रेसको भानु नगर समितिको आज आयोजित पदस्थापन कार्यक्रममा उहाँले जीत र हारलाई स्वाभाविक रुपमा लिएर एकता र सद्भावको यात्रा बढाउनुपर्नेमा जोड दिनुभयो ।
“जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जीत र हारलाई सहज रुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडि बढ्नुपर्छ”, पौडेलले भन्नुभयो, “तब मात्र कांग्रेस बलियो बन्छ ।” लोकतन्त्र बचाउने भनेको काँग्रेसले मात्र भएको उल्लेख गर्दै उहाँले कम्युनिष्टबाट लोकतन्त्र बच्न नसक्ने जिकिर गर्नुभयो । “देशमा लोकतन्त्र बचाउने काम काँग्रेसले जिम्मेवारीपूर्वक बहन गर्नुपर्छ, त्यसको अभिभारा काँग्रेसलाई आइपरेको छ”, उहाँले भन्नुभयो ।
सिंहदरबारका अधिकार गाउँ गाउँमा आएको प्रसङ्ग उल्लेख गर्दै नेता पौडेलले काँग्रेसको नेतृत्वमा ल्याएको संविधानमाथि आक्रमण हुनसक्ने भएकाले परिवर्तन बचाउनका लागि अझै पनि सङ्घर्ष गर्न बाँकी रहेको बताउनुभयो ।
नेपालमा अझै पनि लोकतन्त्र सुनिश्चित नभइसकेको र लोकतन्त्रका लागि लडाई गर्न अझै बाँकी रहेको उहाँले टिप्पणी गर्नुभयो ।
“नेपाललाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ, त्यसका विरुद्धमा कम्मर कसेर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । एमाले जिम्मेवार प्रतिपक्ष बन्नुपर्ने नेता पौडेलको भनाइ थियो ।
कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौली लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
सो अवसरमा भानु नगर समितिका नवनिर्वाचित सभापति रामकुमार श्रेष्ठ नेतृत्वको समितिलाई पदस्थापन गराइएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्