विपन्न चेपाङ परिवारलाई चाडपर्व मनाउन खाद्यान्न सहयोग

चितवन । चितवनका विपन्न १ सय २ चेपाङ घर परिवारलाई चाडपर्व मनाउन खाद्यान्न सहयोग गरिएको छ ।
महान् चाड दशै–तिहार नजिकै आइरहेको अवस्थामा कोरोना कहरले ज्याला मजदुरी गर्न समेत काम नपाई खाद्यान्न सङ्कटमा परेका १ सय २ चेपाङ घर परिवारलाई सो खाद्यान्न सहयोग गरिएको हो ।

एक्सन क्लिनर प्रिन्ज (इन्टरनेशनल हेल्फे फर किन्डर ईननट ईभी) जर्मनी तथा नेपाल बाल सहायता सङ्घको सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र, चितवन एवं जगत चेत प्रतिष्ठान नेपालको संयोजनमा सो सहयोग गरिएको हो ।

दशै–तिहार पर्व मान्न समस्या भएका ती विपन्न चेपाङ परिवारलाई प्रति परिवार २ बोरा चामल, २ किलो नुन, २ लिटर तेल, ४ पोका मस्यौरा, २ किलो दाल, २ किलो केराउ लगायतका खाद्यान्न सामाग्री सहयोग गरिएको थियो ।
कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको जैथली, वास्पानी, चौकीडाडा, साप्रनी लगायतका गाउँका चेपाङहरूलाई सो सहयोग प्रदान गरिएको हो ।

सो अवसरमा पर्यटन व्यवसायी तथा समाजसेवी रामकुमार अर्याल, चेपाङ अभियान्ता केपी किरण शर्मा, राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका इन्जिनियर आनन्दराम थापा, समाजसेवी विष्णुप्रसाद अर्याल, गोपाल अधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्