बालविवाह रोकथाममा सक्रिय हुँदै म्याग्दीका किशोरी

गलेश्वर। म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरूले आफ्नो उमेर समूहका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउने गरेका छन् ।
बालविवाह रोकथाममा लाग्न यहाँका अरू किशोरीलाई समेत अनुरोध गर्ने गरेको धौलागिरि–३ की किशोरी मुना विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्क भएको हुँदैन, त्यसैमा बच्चा जन्मन्छ, आमा र बच्चाको अवस्था निकै जोखिम हुने खतरा हुन्छ, शैक्षिक क्रियाकलापमा सहभागी हुन पाउँदैनन्, बालविवाहले समाज र परिवारमा अनेक किसिमका हिंसा निम्त्याउने हुँदा यसलाई नियन्त्रण गर्नुपर्छ ।”
कार्य बोझका कारण मानसिक, शारीरिक र संवेगात्मक हिसाबले निकै कमजार अनुभूति हुने गर्छ । गाउँमा बालविवाहले निम्त्याएको विकृतिका बारेमा अभिभावकलाई बुझाउने गरेको किशोरी विश्वकर्माले बताउनुभयो । सानै उमेरमा छोरीको विवाह नगर्न र बुहारी नभित्राउन यहाँका किशोरीहरूले हप्ताको एक दिन घरघर गएर अभिभावकलाई बुझाउने गरेका छन् । अहिले यहाँका केही स्थानीय तहमा बालविवाहविरुद्ध किशोरी नै सङ्गठित हुन थालेपछि निकै प्रभावकारी बन्दै गएको बताइएको छ ।
अहिले गाउँ गाउँमा किशोरी सक्रिय हुन थालेपछि विकृतिजन्य क्रियाकलापमा कमी आएको मालिका–३ रुमका दलबहादुर विकले बताउनुभयो । यहाँका स्थानीय तहले पनि बालविवाहविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएका छन् । धौलागिरि र मालिका गाउँपालिकाले बालविवाहविरुद्ध किशोरीलाई विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका ती स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । मालिका गाउँपालिकाले ‘विवाहवरी २० वर्ष पारि’ भन्ने अभियान नै सञ्चालन गरेको छ भने धौलागिरि गाउँपालिकाले पनि बालविवाहविरुद्धको अभियानलाई तीव्र रूपमा सञ्चालन गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्