तपाईँ सुन्दै हुनुहुन्छः

दोषीलाई कारबाही र तत्काल क्षतिपूर्ति दिने सहमति पछि खुल्यो राप्ती राजमार्ग

सल्यान । दोषीलाई कडा कारबाही र पीडितलाई तत्काल क्षतिपूर्ति दिने सहमति पछि अवरुद्ध राप्ती राजमार्ग सुचारु भएको छ । पीडित पक्ष, प्रशासन, र गाडी धनी बिच दोषीलाई कडा कारबाही, मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति र घाइतेहरूको सम्पूर्ण खर्च व्यहोर्ने सहमति पछि आज बिहान ३ बजेदेखि अवरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सहमतिमा बरलामा प्रहरी चौकी स्थापना गर्नु पर्ने, दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने, मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको सम्पूर्ण खर्च व्यहोर्ने सहमति पछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो । ठाउँ ठाउँमा प्रहरी नहुँदा दुर्घटनाका बढेको जनगुनासो आएपछि बरलामा प्रहरी बिट राखिने उहाँको भनाई छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटा दुरीका सयौँ गाडी जाममा परेका थिए । भने यात्रु अलपत्र परेका थिए ।

शुक्रवार बिहान थारमारेबाट सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका –२ बाङ्गेसल्लामा रुखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट शारदा नगरपालिका – ६ बरलाकी अन्दाजी १८ बर्षिया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपालीको उपचारका क्रममा दाङ्गमा मृत्यु भएको थियो । अन्य तीन छात्राको नेपालगन्ज उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button