‘उद्योगहरूको ६४.८ प्रतिशत उत्पादन क्षमता मात्र प्रयोग’

काठमाडौँ । गत आर्थिक वर्षमा नेपालका उद्योगहरूले कूल उत्पादन क्षमताको ६४.८ प्रतिशत उत्पादन क्षमता उपयोग मात्र प्रयोग भएको पाइएको छ ।
देशका प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसंघले जारी गरेको पहिलो औद्योगिक अवस्थिति प्रतिवेदनले त्यस्तो अवस्था रहेको उल्लेख गरेको हो ।
परिसंघले त्रैमासिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अङ्क राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले शुक्रवार सार्वजनिक गर्नुभयो ।
गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादन मूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको अवस्थाका विषयमा प्रतिवेदनमा विस्तृत तथ्याङ्क समेटिएको छ ।
प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासमा उद्योगको आय वृद्धिदर ८ प्रतिशतले बढेको देखाएको छ ।
अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औसतमा ८.३ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औसतमा ७.४ प्रतिशत, उत्पादनमूलक उद्योगले औसतमा ७.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसतमा ८.४ प्रतिशत ब्याज तिरेका छन् ।
उत्पादन मूलक उद्योगहरूले आफ्नो चालु पुँजीको ६६.१ प्रतिशत बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले निजी क्षेत्रले गरेका यस्ता अध्ययनले अर्थतन्त्र कसरी सञ्चालन भइरहेको छ भन्ने जानकारी सरकारलाई दिने उल्लेख गर्नुभयो ।
उपाध्यक्ष पौडेलले तथ्याङ्कमा आधारित शासन नै सुशासन भएकोले सरकारले तथ्याङ्कमा आधारित रहेर नीति तर्जुमा गर्न खोजिरहेको बताउनुभयो ।
कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
यसैगरी परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले औद्योगीकरणका लागि सरकारसँग हातेमालो गर्न परिसंघ सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।
नेपालको औद्योगिक क्षेत्रको आवधिक तथ्याङ्क नभएको अवस्थामा परिसंघले पहिलो पटक यस्तो प्रतिवेदन तयार गरेको दाबी गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरी बिच दुई पक्ष व्यापारका विभिन्न पक्षमा छलफल भएको छ ।








प्रतिक्रिया राख्नुहोस्