तपाईँ सुन्दै हुनुहुन्छः

चार पूर्व प्रधानन्यायाधीशको अदालतको अवहेलना मुद्दामा माग दाबी नपुग्ने

File photo

काठमाडौँ । सर्वोच्च अदालतले चार पूर्व प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा माग दाबी नपुग्ने निर्णय सुनाएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना मल्लको संयुक्त इजलासले आज पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की विरुद्ध परेको अवहेलना मुद्दामा माग दाबी नपुग्ने निर्णय सुनाएको हो । 

उक्त निर्णयसँगै चार पूर्वप्रधानन्यायाधीशले सफाइ पाउनुभएको हो । 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार चार पूर्व प्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा माग दाबी नपुग्ने निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । 

उक्त विघटन गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णय असंवैधानिक भएको उल्लेख गर्दै चार पूर्वप्रधानन्यायाधीशले गत पुस २४ गते प्रेस विज्ञप्ति जारी गर्नुभएको थियो । 

उक्त विज्ञप्तिविरुद्ध अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गर्नुभएको हो । 

उक्त मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डा मनोज शर्माको एकल इजलासले आफैँ अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिनुभएको थियो ।

उक्त आदेशअनुसार उहाँहरू आफै सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button