तपाईँ सुन्दै हुनुहुन्छः

एक लाख मास्क वितरण गर्ने घोषणा

बीरगंज । कोरोना नियन्त्रणमा आएसँगै सर्वसाधारणले मास्क लगाउन छाडेपछि नेपाल मास्क अभियानमा ऐक्यबद्धता जनाउँदै गैर सरकारी संस्था सानो पाइलाले प्रदेश २ मा एक लाख मास्क वितरण गर्ने घोषणा गरेको छ । 

आज बिहान घण्टाघरमा एक कार्यक्रमका बीच सानो पाइलाले प्रदेश नम्बर २ का ८ वटै जिल्ला सदरमुकामसहित अन्य स्थानमा गरेर एक लाख मास्क वितरण गर्ने घोषणा गरेको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले मास्क अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । 

सर्वसाधारण नागरिकहरूले मास्क लगाउन बिर्सिसकेको अवस्थामा खबरदार गराउनुका साथै सचेतना फैलाउनुपर्ने सहायक प्रजिअ पौडेलको भनाई छ । 

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले आफु र अरूको सुरक्षाका लागि मास्क अनिवार्य लगाउनुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव दिपेन्द्र चौहान, पत्रकार महासङ्घ प्रदेश नम्बर २ का महासचिव श्याम बन्जारा लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । 

सानो पाइलाका सभापति सुदीप लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सानो पाइलाका संस्थापक कञ्चन झाले नेपाल मास्क अभियानलाई सफल पार्नका लागि एक लाख मास्क वितरण गर्ने लक्ष्य आफूहरूले लिएको बताउनुभयो । 

एक लाख मास्क वितरण गर्ने अभियान अन्तर्गत आज बिहान वीरगंजको घण्टाघरमा मोटरसाइकल चालक, सवारी चालक, पैदल यात्रु लगायतलाई एक हजार थान मास्क वितरण गरिएको संस्थाकी स्विटी चौरसियाले जानकारी दिनुभयो । 

कार्यक्रममा सानो पाइलाकी सचिव डा.सुष्मा तिवारीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button