स्टाफ कलेजको तालिम सम्पन्न

ललितपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारका विभिन्न निकायका व्यवस्थापन तहका कर्मचारीहरूका लागि सञ्चालन गरेको एडभान्स कोर्ष अन डेभलपमेन्ट एन्ड म्यानेजमेन्ट सम्बन्धी तालिमको आज दीक्षान्त समारोह सम्पन्न भएको छ ।
रेडियो नेपालसहित विभिन्न सरकारी कार्यालयका उपसचिव वा उपसचिव सरहका २९ जना सहभागी रहेको तालिममा सेवाकालीन विभिन्न चार वटा क्षेत्रमा केन्द्र र केन्द्र बाहिरका विज्ञहरूले प्रशिक्षण दिनुभएको थियो ।
भर्चुअल माध्यमबाट दुई महिना सञ्चालित सो तालिमको समापन समारोहमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा.राजन खनालले परिवर्तित परिस्थितिमा सेवा प्रवाहको शैली र तरिकामा समेत परिवर्तन आएकोले तालिम प्राप्त प्रशिक्षार्थीहरुले आफूलाई अब सोही अनुरूप ढालेर सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले, प्रविधिको विकासका कारण सेवाग्राही सेवा प्रदायकभन्दा धेरै सचेत भएकोले अब सेवा प्रदायकहरूले छिटो छरितो र पारदर्शी ढङ्गले सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै प्रत्येक कर्मचारीले आफूबाट सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिष्ठानका सेवाकालीन प्रशिक्षण केन्द्रका निर्देशक विनोदकुमार विष्टले तालिमबाट प्रतिष्ठानले व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूलाई सम्बन्धित कार्यालयको सक्षम नेतृत्वको रुपमा विकास गर्ने उद्देश्य लिएको उल्लेख गर्दै प्रशिक्षार्थीहरुले त्यसलाई कार्यस्थलमा व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षार्थीहरूका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नरहरि घिमिरेले तालिम अत्यन्तै फलदायी भएको र यसबाट सेवा प्रवाहमा आफूहरूलाई कसरी केन्द्रित गर्ने भन्ने ज्ञान प्राप्त भएको बताउनुभयो ।
प्रतिष्ठानका तर्फबाट तालिमको संयोजन एवं सहजीकरण सुरज श्रेष्ठ र सरोजा शाक्यले गर्नुभएको थियो ।
प्रतिष्ठानले यस्तो तालिम निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।









प्रतिक्रिया राख्नुहोस्