दाउन्ने घोराही सडक खण्ड : यात्रुलाई सास्ती

गण्डकी । पोखराबाट दाङ तुलसीपुरका लागि यही असोज ६ गते साँझ ६ बजे छुटेको रात्रि बस भोलिपल्ट साँझ ६ बजे गन्तव्यमा पुगेको थियो । बढीमा सो स्थान पुग्न नौ घण्टा समय लाग्छ । २४ घण्टा समय गाडीमा बिताउनुपर्दाको पीडा यतिखेर उक्त सडक खण्डको नियति जस्तै बनेको पाइएको रुपा गाउँपालिका–७ का कालिदास सुवेदीले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग खण्डको धानखोलाको सडकमा पल्टिएको मालवाहक ट्रकले दुबैतर्फको यातायात अवरुद्ध हुँदा आठ घण्टा जाममा परेको उहाँले गुनासो गर्नुभयो । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने घोराही खण्डमा बारम्बार हुने जामका कारण सास्ती भोग्नु यतिखेर बाध्यता बनेको छ । यातायातका साधनको अत्यधिक चाप साँघुरो एवं जीर्ण सडकको कारण बारम्बार हुने जामले गर्दा सडक प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो ।
गुड्दा गुड्दैका यातायातका साधान अचानक सडकमै दुर्घटना हुने र बिग्रँने गर्दा सडक अवरुद्ध भएपछि राजमार्गको दुबैतर्फm यात्रुवाहक तथा मालवाहकलगायत ठुला एवं साना यातायातका सयौँ साधनको लाम देख्दा यात्रुमा अत्यास लाग्ने गरेको छ ।
पश्चिमतर्फ जाँदै गरेको ना६ख ७९५७ नंको ट्रक असोज १० गते साँझ ६ बजे दाउन्नेको उकालोमा दुर्घटना भयो । सिसा बोकेर पश्चिम जाँदै गरेको सो ट्रक बाटोमा पल्टिएको हुँदा दुबैतर्फmका यातायातका साधन जाममा परे । सडकमा पल्टिएको सो गाडीको कारण प्रहरी, यात्री र स्थानीयको पहलमा सात घण्टापछि मात्र बाटो एकतर्फी खुला भयो सयौँका सङ्ख्यामा जाममा परेका सवारी साधन पूर्णरुपमा खुला हुनत एक दिन नै लागेको पर्वतका बस यात्रु खुम सुवेदी बताउनुभयो ।
यी त सामान्य उदाहरण मात्र हुन मुलुकभरिका ठुला वा साना राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रुले अहिले पनि यस्तै सास्ती भोग्न बाध्य छन् । सडक छेउमा दुर्घटनामा परेका र बिग्रेका यातायातका साधन देख्दा अधिकांश राजमार्ग ग्यारेजमा परिणत भएको जस्तो दृश्य देखिन थालेको सडक प्रयोगकर्ताको सामूहिक धारणा छ ।
गुड्दागुड्दैको मालवाहक ट्रक सडकमा पल्टिने र त्यसलाई तत्काल हटाएर सडक खुलाउने हाम्रो कुनै संयन्त्र नरहेको यस सडक खण्डमा यात्रा गर्नेको गुनासो छ । पोखराबाट दाङको तुलसीपुर यात्रु लिएर जाँदै गरेका ना६ख ९२४ बस चालक रामप्रसाद बञ्जाडेका अनुसार जताततै बाटो अवरुद्ध हुँदा यात्रुलाई समयमा गन्तव्य पु¥याउन नसकेको जनाउँदै अहिले पनि सडकमा हप्तौँ पहिले पल्टिएका र नयाँ बिग्रिएका गाडीका कारण घण्टौँ जाम हुने गरेको बताउनुभयो ।
उहाँ भन्नुभयो, “सरकारले बाटो मर्मतमा ध्यान नदिनु र १० चक्के ट्रकको हकमा १६ टन र १२ चक्केका लागि २१ देखि २४ टनसम्म बोक्न पाउने नेपालको मापदण्ड भए पनि भारतबाट आउने मालवाहक ट्रकले भने ३४ देखि ४० टनसम्म बोक्ने गर्दा ओभर लोडका कारण नेपालका राजमार्गका बाटो बिग्रँने, बढी दुर्घटना र जाम जस्ता समस्याले यात्रुसहित गाडीका स्टाफलाई समेत जटिल समस्या पर्ने गरेको छ ।”
यस वर्ष पानी बढी परेका कारण अधिकांश सडक जीर्ण अवस्थामा पुगेका छन्, अहिले पनि बाटोमा पहिरो झर्ने क्रम जारी छ कतिखेर के हुन्छ भन्न नसकिने बताउँदै उहाँले दुर्घटनामा परेका गाडी सडकबाट हटाउने र बिग्रेका गाडी मर्मत गरेर बन्द सडकलाई तत्काल खुलाउने व्यवस्था गर्न सके मात्र यात्रुलाई तोकिएका समयमा गन्तव्यमा पु¥याउन सकिने बताउनुभयो ।
सडक एकतर्फी खुल्दा पनि लामबद्ध भएर नबसीकन कतिपय चालकले हतार गर्दा थप जाम हुने गरेकोसमेत उहाँको भनाइ छ । कोरोना कहरको सङ्क्रमण कम हुँदै गएको छ । दसैँ, तिहार, छठ जस्ता चाडपर्व नजिक आइसकेका छन् । सो सडक खण्डमा जाम हुने अवस्थाको अन्त्य गर्न सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।








प्रतिक्रिया राख्नुहोस्