तपाईँ सुन्दै हुनुहुन्छः

सीमानाकामा यात्रुको आवागमन सहजीकरण गरिँदै

सुदूरपश्चिम। कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलालीको नेपाल–भारत सीमानाकामा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार जारी गरेको सूचनामा यात्रुको आवागमनलाई व्यवस्थित र सहजीकरण गर्न नेपाल प्रवेशका लागि तोकिएका त्रिनगर सीमानाका र खक्रौला सीमानाकामा सम्बन्धित स्थानीय तह तथा स्वास्थ्य कार्यालयले हेल्थ डेस्क सञ्चालनमा ल्याई नेपाल प्रवेश सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसै गरी नेपाल प्रवेश गर्न चाहने भारतीय नागरिकका हकमा निजले प्रवेश गर्नुअघिको ७२ घण्टाभित्रको कोरोना भाइरसको नमुना परीक्षणको नेगेटिभ नतिजाको प्रमाण देखाउनुपर्ने र प्रवेश गर्ने कुनै पनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा त्यस्तो व्यक्तिको एन्टिजेन परीक्षण गरी नतिजा नेगेटिभ आए मात्र प्रवेश दिइनेसमेत सूचनामा जनाइएको छ ।

बडादशैँजस्ता चाडपर्व नजिकिएसँगै पछिल्ला दिनमा सुदूरपश्चिमका भारतसँग जोडिएका सीमानाकाबाट भित्रिने नेपाली बढ्न थालेका छन् । यससँगै कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने जोखिम पनि देखिएको छ । पछिल्ला दिनमा नागरिकले मास्क प्रयोग गर्नमा समेत बेवास्ता गर्दा यो रोगको जोखिम यथावत् रहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रदेशमा गएको वैशाख र जेठ महिनामा उच्च रहेको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर असार महिनादेखि घट्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button