सन २०३० सम्म रेबिजलाई शून्यमा ल्याउने सरकारको लक्ष्य

काठमाडौँ । पछिल्लो समय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रेबिज विरुद्धको खोप लगाउन जानेको सङ्ख्या बढेको छ ।
केही समय अघिसम्म रेबिज विरुद्धको खोप लगाउनेको सङ्ख्या महिनामा दुई हजार हाराहारीमा भए पनि हाल तीन हजार नाघेको टेकु अस्पतालले जनाएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा बाटा घाटा र घरआगन वरपर रहेका कुकुरहरूले टोक्दा रेबिज विरुद्धको खोप लगाउनेहरू बढिरहेका छन् । कुकुर, बिरालो तथा अन्य जङ्गली जनावरको टोकाइबाट लाग्ने प्राणघातक रेबिज रोगबाट समयमा नै जोगिनु खोप उत्तम हुन्छ ।
रेबिज मानिसमा लागेमा उपचार नहुने तर कुकुरले टोक्ने बित्तिकै खोप लगाए बच्न सकिन्छ ।
कुकुर, बिरालो तथा कुनै पनि जङ्गली जनावरले टोकेपछि स्वास्थ्यकर्मीको परामर्शमा रेबिज विरुद्धको खोपको पहुँचमा छिटो पुग्नु पर्ने बताउनुहुन्छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप बास्तोला । उहाँ भन्नुहुन्छ ”कुनै पनि व्यक्तिलाई रेबिजको लक्षण देखिएमा बचाउन सकिँदैन, त्यसैले रेबिज सम्बन्धी सर्वसाधारणमा चेतना जगाउन जरुरी छ ।”
रेबिजबाट बच्न घरपालुवा र छाडा छाडिएका कुकुरलाई समयमा नै रेबिज विरुद्धको खोप लगाउने, कुकुरले टोकेको स्थानमा १५ मिनेटसम्म साबुन पानीले राम्रो सँग धुने र तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउनुपर्छ ।
विशेष गरी कुकुरबाट मानिसलाई रेबिज रोगको जोखिम बढेकाले छाडा कुकुरहरूलाई स्थानीय तह, सामाजिक सङ्घसंस्था र व्यक्तिगत पहलमा नियमित खोप लगाउने, कुकुरको सङ्ख्या व्यवस्थापन गर्ने र जनचेतना जगाउन सके रेबिज रोगलाई शून्यमा झार्न सकिने टेकु अस्पतालका निर्देशक डा. बास्तोलाको भनाइ छ ।
कुकुरको टोकाइबाट लाग्ने रेबिज रोग सर्वाधिक हुने भएकाले यसबाट बच्न कुकुरलाई रेबिज विरुद्धको खोप लगाएमा जङ्गली जनावरले कुकुरलाई टोके पनि कुकुरबाट मानिसमा रेबिज सर्दैन । कुकुरको सङ्ख्या नियन्त्रणका लागि भ्यासेक्टोमी गर्नुपर्ने डा. बास्तोलाको सुझाव छ ।
सरकारले रेबिज नियन्त्रणका लागि स्थानीय तहबाटै अभियान सञ्चालन गरी छाडा छोडिएका भुस्याहा कुकुरको व्यवस्थापन, देशव्यापी सरकारी स्वास्थ्य संस्थाबाट मानिसलाई निःशुल्क रेबिज विरुद्धको खोपको व्यवस्थापन गर्ने कामलाई अगाडी बढाइएको पनि जनाएको छ ।
सन २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य पनि सरकारको छ ।








प्रतिक्रिया राख्नुहोस्