मनोचिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुने

विराटनगर । मानसिक रोगका कारण स्वास्थ्यमा आउने चुनौती र त्यसको निदान र उपचार सेवालाई थप प्रभावकारी बनाउन विराटनगरमा मनोचिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ ।
आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र सिप आर्जन गरी मानसिक रोगीलाई छिटो छरितो रुपमा सेवा पुर्याउनु सम्मेलनका उद्देश्य रहेको जनाएको छ । कार्तिक ११ गतेदेखि तिन दिन सम्म विराट मेडिकल कलेजको परिसरमा सञ्चालन हुने उक्त सम्मेलनमा नेपाल सहित १८ देशका तीन सय मनोचिकित्सकहरूको सहभागिता रहने छ ।
सम्मेलनमा सहभागी चिकित्सकहरू बीच मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी तथा मानसिक स्वास्थ्यमा देखिने चुनौती र अवसरका विषयमा छलफल हुने सम्मेलन आयोजक समितिका संयोजक प्राडा नवराज कोइरालाले बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा ३२ वटा कार्यपत्र प्रस्तुत हुने छन् ।
त्यसबाहेक मानसिक स्वास्थ्य पत्रकारिताका विषयमा पत्रकारसँग तथा मानसिक स्वास्थ्यका विषयमा बनाइने नीति निमार्णमा कानुन विज्ञसँग सम्मेलनमा छलफल हुने छ । सम्मेलनबाट आएका सुझावलाई बुँदागत रुपमा सरकार समक्ष प्रस्तुत गरिने जनाइएको छ विश्व स्वास्थ्य सङ्गठन डव्लुएचओको प्रतिवेदन अनुसार विश्वको हरेक १ सय व्यक्तिमध्ये १५ देखी २० जनामा मानसिक रोगको असर देखिने गरेको छ ।
रोगको प्रभाव यति धेरै सख्यामा हुँदा पनि यो रोगको उपचार तथा निदानका लागी नेपालमा कुनै ठोस नीति तथा कार्यक्रम नभएको बताइएको छ । विराटनगर अस्पताल तथा विराट मेडिकल कलेजका निर्देशक डा ज्ञानेन्द्रमान सिंह कार्कीले सम्मेलनलाई सफल बनाउन आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्