तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वमा हुने कालोबजारी रोक्न सुरक्षा योजनासहित अगाडि बढ्ने प्रजिअ मल्लको भनाई

अछाम ।  अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले चाडपर्वका बेला हुने कालोबजारी रोक्न र सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्न दसैँ, तिहार लक्षित सुरक्षा कार्य योजनासहित अगाडि बढ्ने बताउनु भएको छ ।

उहाँले दसैँ, तिहार जस्ता चाडपर्वका बेला बजारमा कालोबजारी हुने तथा आपराधिक गतिविधि समेत बढ्ने गरेको भन्दै त्यसतर्फ निगरानी राख्न दसैँ ,तिहार लक्षित सुरक्षा कार्य योजनासहित प्रशासन आफ्नो काम प्रति प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

उहाँले चाडपर्वमा पनि सुरक्षा व्यवस्था र बजार व्यवस्था सहज गराउनुपर्छ भन्ने उद्देश्यले प्रशासन आफ्नो कार्य योजनासहित सुरक्षा प्रदान गर्न तत्वर रहेको पनि बताउनुभयो । नागरिकले महँगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन नदिन यो योजनासहित अगाडि बढ्ने पनि उहाँले बताउनुभयो ।

उहाँले दसैँ, तिहार जस्ता चाडपर्वको बेलामा कुनै पनि व्यापारीले उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी मूल्य असुली गरी बस्तु खरिद ,बिक्री गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई कानुनको दायरा ल्याएर कडाभन्दा कडा कारबाही गरिने समेत चेतावनी दिनुभयो । व्यापारीले आफ्नो पसलबाट खरिद ,बिक्री हुने बस्तुको मूल्य सूचि अनिवार्य रुपमा टाँसेको हुनु पर्ने प्रजिअ मल्लले बताउनुभयो ।

उहाँले उपभोक्ताले पनि बस्तुको मूल्य सूचि हेरेर आफूलाई आवश्यक उपभोग्य बस्तु खरिद गर्नु पर्ने कुरामा पनि जोड दिनुभयो । व्यापारीले तोकिएको मूल्य सूचिभन्दा बढी मूल्य असुली गर्न खोजेमा जिल्ला प्रशासनमा तुरुन्त जानकारी गराई दिन उपभोक्तालाई उहाँले आग्रह समेत गर्नुभयो ।

नेपाल सरकारले बनाएको उपभोक्ता संरक्षण सम्बन्धी कानुन अनुसार कालोबजारी गर्ने जो कसैलाई पनि कानुनको दायराभन्दा बाहिरी जाने अधिकार नरहेकाले त्यस्तो व्यक्तिलाई कानुनले तोकेको सजाय गराई छोड्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button