तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व नजिकिँदै गर्दा कास्कीमा बजार अनुगमन तीव्र

कास्की । चाडपर्व  नजिकिँदै गरेको बेला बजारमा कालो बजारी भएको व्यापक जनगुनासो आए पछि कास्कीमा बजार अनुगमन तीव्र बनाइएको छ । बजारका कालोबजारी गर्नेहरूलाई रोक्न र उपभोक्ताहरूलाई गुणस्तरीय सामाग्री प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न अनुगमन गर्न निस्कने गरेको छ । कास्कीमा  यति बेला गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, सङ्घीय सरकारको संयुक्त टोलीले अनुगमनलाई तीव्रता दिइरहेको छ ।  

गएको २ महिनाभित्र मात्र ७ वटा पसल तथा उद्योग व्यवसाय कारबाहीमा परेको उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले बताउनु भयो  । 

गत महिना पोखरा १० को सोल्टी पानीले बिलबिजक जारी नगरी व्यवसाय सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको थियो । उसलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको थियो । कोइराला भन्नु हुन्छ , “दशै आउँदै छ बजारमा कृत्रिम अभाव गरेर उपभोक्तालाई ठग्न पाइँदैन त्यसैले हामीले खसी  बजार , सस्तो बजार , कालोबजारी नियन्त्रण गर्न अनुगमनलाई तीव्रता दिइरहेका छौ । ”

राजनीतिक अस्थिरताको बेलामा व्यापारीले मूल्यवृद्धि गर्ने हुँदा टोलीले अनुगमनलाई तीव्रता दिएको कोइरालाले बताउनु भयो । ‘नजिकिएको चाडपर्व यसमाथि दशैंमा किनबेच बढी हुन्छ । उपभोक्ताहरू बढी ठगिने भएकाले अनुगमनलाई तीव्रता दिइएको हो ।’ कानुनी प्रावधान अनुसार प्रत्येक महिना १० वटा अनुगमन अनिवार्य गर्नुपर्छ । तर टोलीले चाडपर्व नजिकिएको कारण प्रत्येक महिना २० देखि २२ सम्म अनुगमन गरेको छ ।

किनमेल बढी हुने खाद्यान्न फेन्सी, खसी, बोका, भेडा च्याङ्ग्रा बिक्री वितरण हुने ठाउँमा पनि भेट्नरी डाक्टरहरू लगाएर अनुगमन गर्ने प्रदेश निर्देशक नारायण आर्चायले बताउनु भयो । ‘ अहिले  अनुगमन खाद्यान्न केन्द्रित रहेको छ  । कसैले पनि  मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव गरे टोलीले कसैलाई पनि छुट दिन्न,’ आर्चायले भन्नु भयो  ।

कालोबजारी गर्ने कृत्रिम अभाव गर्ने अथवा मापदण्ड मिचे टोलीले कारबाही गर्न सक्छ । बजारमा ‘मापदण्डभन्दा बाहिर कारोबार गरेको, खरिद मूल्यमा २० प्रतिशत भन्दा बढी राखेर बिक्री गरेको, मूल्य सूची नराखेको, सरसफाइमा ध्यान नदिए कारबाही हुन्छ,’ कोइरालाले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button