विद्यालयको अनुदान कोटा कटौती गरेको भन्दै गाउँपालिकामा तालाबन्दी

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको शिक्षा समितिको अनुदान कोटा काट्ने निर्णयप्रति शान्नीकोट आधारभूत विद्यालय कालिकाका अभिभावक तथा सरोकारवाला आक्रोशित भएका छन् ।
शिक्षक अनुदान कोटा काटिएको विरोधमा शान्नीकोट आधारभूत विद्यालय कालिकाका विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाले बान्नीगढी जयगढ गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
शान्नीकोट आधारभूत विद्यालयमा ६, ७ र ८ सम्मका कक्षाहरूका लागि १ जना अनुदान कोटा र निजी शिक्षकमार्फत सञ्चालन भइरहेका बेला गाउँपालिकाले थप दरबन्दी प्रदान गर्नुको सट्टा विद्यालयमा विगत ३ वर्षदेखि कायम रहेको अनुदान कोटा अन्य विद्यालयलाई प्रदान गर्ने निर्णय गरेर मनगणन्ते शासन लागु गर्न खोजेको भन्दै शिक्षक, विद्यार्थी र अभिभावले तालाबन्दी गरेका हुन् ।
शिक्षकहरूका कोटा आवश्यकताका आधारमा नभई निकटताका आधारमा वितरण गर्ने निर्णय गरी गाउँपालिकाको शिक्षा समितिले शान्नीकोट आधारभूत विद्यालय माथि विभेदपूर्ण व्यवहार प्रदर्शन गर्नुका साथै एकात्मक शासन प्रणालीको झल्को दिएको अभिभावक टङ्क साउदले बताउनुभयो ।
यस्तै शिक्षक महासङ्घ बान्नीगढीका अध्यक्ष धिरेन्द्र बहादुर रावलले सङ्घीय शिक्षण सिकाइ अनुदान कोटाको मर्मको भावना विपरीत निर्णय गरिएको बताउनुभयो ।
शिक्षा जस्तो क्षेत्रमा ऐन, नियमावली विपरीत निर्णय गर्न गराउन गाउँपालिका शिक्षा समिति तम्सिनु आम नागरिक, शिक्षा प्रेमी तथा बालबालिकाका लागि दुःखद विषय बनेको उहाँले बताउनुभयो ।
अभिभावक तथा अगुवा टङ्क साउदले विद्यालयको अनुदान कोटा आवश्यकताका आधारमा नभई मनलाग्दी ढङ्गले अन्य विद्यालयमा वितरण गर्ने निर्णय गरेकोमा आपत्ति जनाउनुभयो । उक्त निर्णय यथाशक्य सच्याई सोही विद्यालयमा उक्त अनुदान कोटा कायम गर्न उहाँले माग गर्नुभयो ।
वडा अध्यक्ष लाल कामीले गाउँपालिकाको शिक्षा समितिले आफूहरूले यस निर्णयका विषयमा निर्णय गर्नु पूर्व जानकारी गराउँदा समेत बेवास्ता गर्दै लादेर निर्णय गरिएकोमा आपत्ति जनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्